गगन थापालाई पछ्याउने को हुन्? पक्राउको हल्लाले बढायो राजनीतिक हलचल


नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने चर्चा व्यापक बने पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा हालसम्म त्यस्तो कुनै आदेश नआएको खुलेको छ।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले आफू र आफ्नो कार्यालयलाई थापालाई पक्राउ गर्न कुनै निर्देशन वा आदेश प्राप्त नभएको बताएका छन्। नेपाल प्रेससँग कुरा गर्दै उनले अन्य कुनै कार्यालयमा त्यस्तो सूचना वा गतिविधि भए आफूलाई जानकारी नहुने स्पष्ट पारे।

यता, थापाको सचिवालयले भने पछिल्लो दुई दिनदेखि सादा पोसाकका अपरिचित व्यक्तिहरूले निगरानी बढाएको दाबी गरेको छ। सचिवालयका एक सदस्यका अनुसार मोटरसाइकलमा सवार केही अपरिचित व्यक्तिहरू थापाको पछिपछि लाग्ने गरेका छन्। सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा समेत सादा पोसाकका अपरिचित व्यक्तिको आवतजावत बढेको उनको भनाइ छ।

प्रहरी स्रोतका अनुसार बुधबार पदमुक्त गरिएका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमा रहँदै ‘माथिको आदेश’ भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापामाथि निगरानी राख्न निर्देशन दिएका थिए।

तर, बिहीबार बिहान कार्यालय समय सुरु भएपछि कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले सहकर्मीहरूलाई दिएको ब्रिफिङमा त्यस्तो कुनै निर्देशनबारे उल्लेख नगरेको स्रोतले जनाएको छ। बुधबारको ब्रिफिङमा पनि उक्त विषयमा कुनै निर्देशन नदिइएको बताइएको छ।

यसरी पक्राउ गर्ने हल्ला र निगरानीको दाबी सार्वजनिक भइरहँदा सीआईबीले भने हालसम्म पक्राउसम्बन्धी कुनै आदेश प्राप्त नभएको स्पष्ट पारेको छ।