प्रहरी हेडक्वार्टरमा बोलाइए सातै प्रदेशका डीआईजी


सरकारले प्रहरी प्रमुखसहित उच्च अधिकारीलाई पदमुक्त गर्न सक्ने चर्चा चुलिएपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको छ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित प्रदेश प्रहरी प्रमुख रहेका डीआईजीहरूलाई बिहीबार मध्याह्न १२ बजेसम्म उपस्थित हुन निर्देशन दिएको हो।

प्रहरीस्रोतका अनुसार संगठनको चेन अफ कमान्ड र शान्तिसुरक्षा व्यवस्थापनमा असर पर्ने गरी मिडिया ट्रायल हुन थालेपछि त्यसको प्रभावबारे ठोस नीति तय गर्न उनीहरूलाई बोलाइएको हो।

प्रदेश प्रहरी प्रमुखहरू प्रधान कार्यालय पुग्नुअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक चलिरहेको थियो। बैठकमा प्रधान कार्यालय र काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकृत सहभागी छन्।

प्रहरीप्रतिको जनविश्वासमा आँच पुग्ने र प्रहरी तथा नागरिकबीचको सहकार्य प्रभावित हुने गरी हुने हस्तक्षेप वा चलखेल स्वीकार्य नहुने भन्दै प्रहरीले सक्रियता बढाएको स्रोतको भनाइ छ।

प्रहरीस्रोतका अनुसार कोशीका डीआईजी शेखर खनाल केही दिनदेखि बिदामा काठमाडौंमै छन् भने मधेशका डीआईजी ओमप्रसाद अधिकारी कार्यालयको कामका सिलसिलामा काठमाडौंमा छन्। बागमतीका दीपक रेग्मी, लुम्बिनीका भूपेन्द्रबहादुर खत्री, कर्णालीका जयराज सापकोटा र सुदूरपश्चिमका सानुराम भट्टराई हवाई मार्ग हुँदै काठमाडौं आइरहेका छन्।

बोलाइएका एक प्रदेश प्रहरी प्रमुखले आफू काठमाडौं पुग्न लागेको बताए पनि कुन विषयमा र के कारणले बोलाइएको हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्।