गोलबजारका पूर्वमेयर–उपमेयरसहित सातविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर


सिराहाको गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहु तेली र पूर्वउपमेयर रेशमकुमारी थापासहित सातजनाविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरपालिकाको हाटबजार ठेक्का तथा राजस्व व्यवस्थापनमा अनियमितता गरी एक करोड ६० लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले सोमबार आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा जनप्रतिनिधि तथा कर्मचारीको मिलेमतोमा गोलबजार नगरपालिका–६ र ७ स्थित पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको ठेक्का प्रतिस्पर्धाबिनै अमानतमा प्रदान गरिएको थियो । यसक्रममा राजस्व हिनामिना भएको अख्तियारको दाबी छ ।

मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू श्रीधर केसी र अनन्तकुमार पौडयाल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादवसमेत छन् ।

आरोपपत्रअनुसार प्रतिवादीहरूले २७ लाख ३४ हजार ९१३ रुपैयाँ नियमविपरीत राजस्व छुट दिएको र एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ राजस्व असुल नगरेको आरोप छ । दुवै रकम जोड्दा कुल एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको अख्तियारको दाबी छ ।

आयोगले सोही रकमलाई बिगो कायम गरी प्रतिवादीहरूविरुद्ध कानुनबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।