आनी डोल्माको नियुक्तिविरुद्ध प्रदर्शन गर्ने खान रिहा


लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी डोल्मा गुरुङ नियुक्त भएको विरोधमा पर्यटनमन्त्रीको पुत्ला दहन गरेको आरोपमा पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान र अर्का आरोपी वाजिउद्दिन मुसलमान रिहा भएका छन्।

खानका अनुसार उनलाई राति साढे १० बजे होटलतर्फ जाँदै गर्दा प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको उनको आरोप छ। त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उनले बताए।

खानले दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाइ फकरुद्दिन खानको जिम्मा लगाएर आफूलाई रिहा गरिएको जानकारी दिए।

छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध र पुत्ला दहन नगरी शान्तिपूर्ण रूपमा माग राख्न सुझाव दिएको उनको भनाइ छ। सार्वजनिक स्थलमा उच्छृङ्खल गतिविधि गरी शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा पक्राउ परेका मुसलमानलाई पनि प्रहरीले रिहा गरेको छ।

पत्रकारहरूसँग कुरा गर्दै खानले लुम्बिनीको विकास, संरक्षण र स्थानीयवासीको हकहितका लागि आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए। सरकारका कदम र लुम्बिनीप्रतिको बेवास्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन तथा सभा आयोजना गर्नुका साथै मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएको उनले उल्लेख गरे।

मन्त्रीको पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि र आक्रोशको अभिव्यक्ति भएको बताए। लुम्बिनीको विकास, संरक्षण र स्थानीयको हितमा सरकार गम्भीर हुनुपर्ने उनको माग छ।

खानले आफूहरू कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने स्पष्ट पारे।

“हामी भाग्ने मान्छे होइनौँ। मन्त्रीको पुत्ला जलाइएको हो र यसमा हामी पछि हट्दैनौँ। तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण रूपमा आफ्ना माग राख्छौँ,” उनले भने।

आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुने बताउँदै खानले लुम्बिनीका नाममा राजनीति बन्द गर्न र यस क्षेत्रलाई बुद्धमय बनाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक ढंगले काम गर्नुपर्ने आग्रह गरे।