काठमाडौं । मस्तिष्कमा गम्भीर चोट लागेपछि पनि सपना पछ्याउँदै एभरेस्ट बेस क्याम्प पुगेका ब्रेन इन्जुरी सर्भाइभरहरूको साहसिक कथा बोकेको नेपाली वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ले भारतको सिम्लामा स्पेसल जुरी अवार्ड जितेको छ ।
निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित तथा निर्मित वृत्तचित्रले ३३ देशका फिल्म सहभागी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विश्वका विभिन्न देशका वृत्तचित्रसँग प्रतिस्पर्धा गर्दै स्पेसल जुरी अवार्ड हात पारेको हो ।
सेप्टेम्बर २५ देखि २७ सम्म सिम्लाको ऐतिहासिक गेती हेरिटेज कम्प्लेक्समा आयोजित महोत्सवको आइतबार भएको अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर गुप्ता र फेस्टिभल निर्देशक पुष्पराज ठाकुरले निर्देशक पाण्डेलाई अवार्ड प्रदान गरे ।

‘द एभरेस्ट ड्रिम’को कथा चोटबाट सुरु हुन्छ, तर यसको गन्तव्य सपनासम्म पुग्नु हो । मस्तिष्कमा गम्भीर चोटपछि जीवनमा अनेक चुनौती सामना गरिरहेका बेलायती नागरिकहरूको एभरेस्ट बेस क्याम्पसम्मको यात्रालाई फिल्मले मुख्य विषय बनाएको छ ।
स्कटल्यान्डबाट सुरु भएको कठिन प्रशिक्षण, शारीरिक तथा मानसिक संघर्ष र त्यसपछि नेपाल आएर हिमालयको यात्रा गर्दासम्मका अनुभवलाई वृत्तचित्रले पर्दामा उतारेको छ ।

जेम्स लेम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्भाइभरसहित सात सदस्यीय टोलीले एभरेस्ट बेस क्याम्पसम्म गरेको यात्राले फिल्मको कथालाई अगाडि बढाउँछ । कठिनाइका बीच पनि मानिसले आफ्नो सपना पछ्याउन सक्छ भन्ने आत्मविश्वास र साहसलाई फिल्मले केन्द्रमा राखेको छ ।
निर्देशक पाण्डेका अनुसार, जीवनमा गम्भीर चोट वा कठिन परिस्थिति आए पनि मानिसले नयाँ सपना देख्न र ती सपना पूरा गर्न सक्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ ।
‘द एभरेस्ट ड्रिम’ले यसअघि अमेरिकाको जर्जियामा आयोजित कब अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसमेत जितिसकेको छ ।

सिम्लामा प्राप्त स्पेसल जुरी अवार्डसँगै ‘द एभरेस्ट ड्रिम’ले नेपाली वृत्तचित्रको अन्तर्राष्ट्रिय यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ । फिल्मले हिमालको कथा मात्र होइन, चुनौतीका बीच पनि सपना देख्ने र त्यसलाई पछ्याउने मानवीय साहसलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याएको छ ।

प्रतिक्रिया