जेनजी आन्दोलनको एक वर्ष: नेपालले के पायो, के गुमायो ?

सत्ता परिवर्तनदेखि शासन सुधारसम्म: आन्दोलनले दिएको आशा, गुमाएको मूल्य र समृद्धिको अधुरो यात्रा


एक वर्षअघि नेपाली समाजले एउटा असाधारण राजनीतिक दृश्य देख्यो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन केही समयमै भ्रष्टाचार, बेथिति, राजनीतिक संरक्षणवाद, जवाफदेहिताको अभाव र पुरानो राजनीतिक संस्कारविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भयो । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनले राज्य र नागरिकबीच बढ्दै गएको दूरीलाई सतहमा ल्यायो । 

आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भयो, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्यो र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र मुलुक निर्वाचनको बाटोमा अघि बढ्यो । यसरी हेर्दा जेनजी आन्दोलन केवल सडकको प्रदर्शन रहेन, यसले नेपालको राजनीतिक यात्रालाई नै नयाँ मोडमा पु¥यायो ।

तर एक वर्षपछि प्रश्न केवल यति होइन—सरकार बदलियो कि बदलिएन ? मूल प्रश्न हो—नेपालले वास्तवमै के पायो र के गुमायो ?

आन्दोलनले राजनीतिक परिवर्तनको ढोका खोल्यो । तर त्यससँगै देशले मानवीय जीवन, सार्वजनिक तथा निजी सम्पत्ति र संस्थागत स्थिरताको ठूलो मूल्य पनि चुकायो । त्यसैले यसको मूल्यांकन न त अन्ध समर्थनबाट गर्न सकिन्छ, न त पूर्ण असफलताको निष्कर्षबाट । यसलाई उपलब्धि, क्षति, अवसर र चुनौती सबै कोणबाट हेर्नुपर्छ ।

 नेपालले के पायो ?

जेनजी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि नेपाली युवाको राजनीतिक चेतनामा आएको परिवर्तन हो ।

नयाँ पुस्ता अब राजनीतिक दलको कार्यकर्ता वा चुनावका बेला मतदाता मात्र बन्न चाहँदैन । उसले प्रश्न गर्छ, तथ्य खोज्छ, तुलना गर्छ र परिणाम माग्छ ।

सामाजिक सञ्जाल र डिजिटल माध्यमले युवालाई आफ्नो असन्तुष्टि व्यक्त गर्ने, संगठित हुने र राजनीतिक नेतृत्वलाई प्रत्यक्ष प्रश्न गर्ने नयाँ शक्ति दिएको छ ।

यसले नेपाली लोकतन्त्रमा एउटा नयाँ सन्देश दिएको छ—नागरिक अब पाँच वर्षमा एकपटक मत हालेर मात्र आफ्नो भूमिका पूरा भएको ठान्दैन ।

सरकारको काममाथि निरन्तर निगरानी राख्नु पनि नागरिकको अधिकार हो ।

पुरानो राजनीतिक संस्कारमाथि प्रश्न

आन्दोलनले भ्रष्टाचार, नातावाद, कृपावाद, राजनीतिक संरक्षण, सत्ता केन्द्रित राजनीति र कमजोर जवाफदेहिताविरुद्धको असन्तुष्टिलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो ।

लामो समयदेखि जनतामा थुप्रिँदै आएको असन्तुष्टि सडकमा विस्फोट भयो । यसले पुराना राजनीतिक दल र नेतृत्वलाई एउटा गम्भीर सन्देश दियो—जनताको धैर्य अनन्त हुँदैन ।

यस अर्थमा जेनजी आन्दोलनले नेपालको राजनीतिक प्रणालीलाई आत्मसमीक्षाको अवसर दिएको छ ।

सत्ता परिवर्तन

आन्दोलनको सबैभन्दा प्रत्यक्ष राजनीतिक परिणाम तत्कालीन सरकारको पतन थियो ।

त्यसपछि अन्तरिम सरकार गठन भयो, निर्वाचनको बाटो खुल्यो र नयाँ राजनीतिक शक्तिलाई राष्ट्रिय नेतृत्वमा पुग्ने अवसर प्राप्त भयो ।

२१ फागुन २०८२ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गर्दै अत्यन्त बलियो जनादेश हासिल ग¥यो । दुई तिहाइका लागि आवश्यक १८४ सिटभन्दा दुई सिट कम भए पनि यो परिणाम नेपाली राजनीतिमा आएको ठूलो परिवर्तनको संकेत थियो ।

यसले देखायो—मतदाताले विकल्प खोज्दा राजनीतिक नक्सा नै बदलिन सक्छ ।

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि आन्दोलनबाट उत्पन्न राजनीतिक ऊर्जा सरकार सञ्चालनको जिम्मेवारीमा बदलियो ।

तर यहीँबाट अर्को प्रश्न सुरु हुन्छ—सत्ता पाउनु उपलब्धि हो, कि सत्ता चलाएर परिणाम दिनु उपलब्धि हो ?

सुशासनको नयाँ अपेक्षा

आन्दोलनले सरकारमाथि नागरिकको अपेक्षा पनि बदलिदिएको छ ।

अब जनताले सरकारसँग केवल ठूला भाषण र विकासका घोषणाभन्दा पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, छिटो सेवा, रोजगारी, न्याय र परिणाम खोजिरहेका छन् ।

नयाँ सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, सार्वजनिक सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र सरकारी कामको प्रभावकारिता बढाउने विषयलाई प्राथमिकतामा राख्नु सकारात्मक सुरुवात हो ।

तर नीति र घोषणा आफैँमा उपलब्धि होइनन् । त्यसको वास्तविक मूल्य नागरिकले आफ्नो दैनिक जीवनमा अनुभव गर्ने परिणामले निर्धारण गर्छ ।

नेपालले के गुमायो ?

जेनजी आन्दोलनको सबैभन्दा ठूलो क्षति मानवीय हो ।

आन्दोलनका क्रममा धेरै नागरिकले ज्यान गुमाए र हजारौँ घाइते भए । उनीहरूमध्ये अधिकांश युवा पुस्ताका नागरिक थिए—जुन पुस्ताले परिवर्तनको सपना बोकेको थियो ।

कुनै पनि राजनीतिक परिवर्तनको मूल्य नागरिकको जीवन हुन सक्दैन ।

त्यसैले आन्दोलनको मूल्यांकन गर्दा सहिद भएका नागरिक र घाइतेहरूको पीडा सबैभन्दा अगाडि राखिनुपर्छ ।

उनीहरूको परिवारले न्याय, राहत र सम्मान पाएको अनुभूति गर्न सकेन भने आन्दोलनको नैतिक उपलब्धि अधुरै रहन्छ ।

अर्बौँको भौतिक क्षति

आन्दोलनका क्रममा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति भयो ।

सरकारी कार्यालय, राजनीतिक दलका संरचना, निजी व्यवसाय, सवारीसाधन तथा अन्य पूर्वाधारमा भएको क्षतिले देशलाई ठूलो आर्थिक भार थप्यो ।

यो सम्पत्ति कसैको व्यक्तिगत मात्र थिएन । सार्वजनिक संरचनामा भएको क्षतिको पुनर्निर्माण अन्ततः राज्यको बजेटबाट हुन्छ । अर्थात्, त्यसको भार फेरि नागरिककै करबाट उठाउनुपर्छ ।

त्यसैले परिवर्तनको नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्ने संस्कार लोकतान्त्रिक आन्दोलनको स्थायी उपलब्धि बन्न सक्दैन ।

संस्थागत क्षति

भौतिक संरचना पुनर्निर्माण गर्न सकिन्छ । तर सरकारी कार्यालयमा रहेका अभिलेख, दस्तावेज, ऐतिहासिक सामग्री र संस्थागत स्मृति नष्ट हुनु अझ गम्भीर क्षति हो ।

राज्य केवल भवन र कार्यालयको संरचना होइन । राज्यको निरन्तरता अभिलेख, संस्था र कानुनी प्रक्रियामा पनि टिकेको हुन्छ ।

त्यसैले आन्दोलनका क्रममा भएको हिंसा र आगजनीबाट भएको संस्थागत क्षतिलाई सामान्य राजनीतिक घटनाका रूपमा मात्र हेर्नु हुँदैन ।

आन्दोलनले के सिकायो ?

जेनजी आन्दोलनले नेपाललाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ—आक्रोश परिवर्तनको सुरुवात हुन सक्छ, तर परिवर्तनलाई टिकाउन संस्था चाहिन्छ ।

सडकले सरकार हटाउन सक्छ । निर्वाचनले नयाँ नेतृत्वलाई वैधानिकता दिन सक्छ । तर देश बदल्न नीति, कानुन, बजेट, सक्षम प्रशासन र निरन्तर कार्यान्वयन आवश्यक हुन्छ ।

यही कारण आन्दोलनको एक वर्षपछि सबैभन्दा ठूलो प्रश्न सरकारको लोकप्रियता होइन, शासनको परिणाम हो ।

सरकार बदलियो, शासन बदलियो ?

एउटा सरकार हटेर अर्को सरकार आउनु राजनीतिक परिवर्तन हो । तर नागरिकले सरकारी कार्यालयमा पहिलेभन्दा छिटो सेवा पाउन थाले कि थालेनन् ? भ्रष्टाचार घट्यो कि घटेन ? रोजगारी बढ्यो कि बढेन? विकास आयोजना समयमा पूरा हुन थाले कि थालेनन् ? कानून सबैका लागि समान भयो कि भएन ?

यिनै प्रश्नले वास्तविक परिवर्तन मापन गर्छ ।

यदि व्यक्ति मात्र बदलियो तर निर्णय गर्ने शैली उस्तै रह्यो, राजनीतिक पहुँच उस्तै रह्यो, प्रशासनिक ढिलासुस्ती उस्तै रह्यो र भ्रष्टाचारको स्वरूप उस्तै रह्यो भने जेनजी आन्दोलनको उद्देश्य पूरा भएको मान्न सकिँदैन ।

व्यक्ति परिवर्तन राजनीतिक उपलब्धि हो प्रणाली परिवर्तन संस्थागत उपलब्धि हो ।

स्थिरता: अबको सबैभन्दा ठूलो आवश्यकता

जेनजी आन्दोलनपछि नेपालले राजनीतिक स्थिरताको आवश्यकता झन् गहिरो रूपमा महसुस गरेको छ ।

तर स्थिरताको अर्थ पाँच वर्षसम्म सरकार नढल्नु मात्र होइन ।

स्थिरता भनेको नीति स्थिर हुनु हो । विकासका प्राथमिकता स्थिर हुनु हो । प्रशासनिक प्रक्रिया विश्वसनीय हुनु हो । लगानीकर्ताले भोलिको नीति अनुमान गर्न सक्नु हो । नागरिकले सेवा लिन हरेकपटक राजनीतिक समीकरण बदलिने प्रतीक्षा गर्नु नपर्नु हो ।

अब नेपाली जनताले ‘कति सरकार बने?’ भनेर होइन, ‘कति काम पूरा भयो ?’ भनेर हिसाब माग्ने समय आएको छ ।

युवाको समर्थनको अर्थ के हो ?

युवाले नयाँ राजनीतिक नेतृत्वलाई दिएको समर्थन असीमित समर्थन होइन । यो एउटा आशा हो ।

रोजगारी पाइन्छ कि ?

देशमै अवसर बन्छ कि ?

शिक्षा र सीपको उपयोग हुन्छ कि ?

भ्रष्टाचार घट्छ कि ?

न्याय पाइन्छ कि ?

सरकार पारदर्शी हुन्छ कि ?

यी प्रश्नको उत्तर खोज्ने पुस्ताले सरकारलाई समर्थनसँगै निगरानी पनि गर्नेछ ।

त्यसैले सरकारले युवालाई केवल समर्थकका रूपमा होइन, नीति निर्माणका साझेदारका रूपमा हेर्नुपर्छ ।

युवाले पनि आफ्नो प्रश्न गर्ने अधिकार कायम राख्नुपर्छ । लोकतन्त्रमा सरकारलाई समर्थन गर्नु र सरकारलाई प्रश्न गर्नु परस्पर विरोधी कुरा होइनन् ।

समाजशास्त्रीय दृष्टिले: नयाँ पुस्ताको उदय

म आफू समाजशास्त्र, कानून र इन्जिनियरिङको विद्यार्थीका रूपमा नेपालको वर्तमान परिवर्तनलाई यी तीन दृष्टिकोणबाट हेर्दा एउटा साझा निष्कर्षमा पुग्छु—अब नेपालको समृद्धि सचेत नागरिक, स्थिर शासन, कानुनी शासन, प्राविधिक दक्षता र जनमुखी प्रशासनको आधारमा निर्माण हुनुपर्छ ।

समाजशास्त्रीय दृष्टिले जेनजी आन्दोलन नेपाली समाजमा भइरहेको पुस्तान्तरणको अभिव्यक्ति हो ।

नयाँ पुस्ता अब केवल राजनीतिक भाषण सुन्न चाहँदैन । उसले तथ्य खोज्छ, प्रश्न गर्छ, तुलना गर्छ र परिणाम हेर्छ ।

सामाजिक सञ्जालले नागरिकलाई सूचना प्राप्त गर्ने मात्र होइन, राज्यलाई प्रश्न गर्ने शक्ति पनि दिएको छ ।

यो चेतनालाई लोकतन्त्रको सकारात्मक शक्तिमा बदल्नुपर्छ ।

सचेत नागरिक लोकतन्त्रको बोझ होइन, लोकतन्त्रको सबैभन्दा ठूलो सुरक्षा कवच हो ।

कानुनी दृष्टिले: न्याय प्रतिशोध बन्नु हुँदैन

कानूनभन्दा माथि कोही हुनु हुँदैन ।

आन्दोलनमा राज्यबाट भएको बल प्रयोगको निष्पक्ष अनुसन्धान आवश्यक छ भने आन्दोलनका नाममा भएको हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिको क्षतिको अनुसन्धान पनि कानुनी प्रक्रियाबाट हुनुपर्छ ।

दोषी को हो भन्ने निष्कर्ष प्रमाण र विधिसम्मत प्रक्रियाबाट निकालिनुपर्छ ।

आयोगका प्रतिवेदन राजनीतिक स्वार्थअनुसार प्रयोग गर्ने होइन, कानुनी निष्कर्षमा पु¥याउने विषय बन्नुपर्छ ।

न्याय प्रतिशोध बन्नु हुँदैन र दण्डहीनता पनि न्याय बन्न सक्दैन ।

राज्य बलियो हुनुको अर्थ नागरिकमाथि बल प्रयोग गर्न सक्नु होइन । नागरिकको अधिकार सुरक्षित गर्दै कानून कार्यान्वयन गर्न सक्नु हो ।

इन्जिनियरिङ दृष्टिले: विकासमा गुणस्तर चाहिन्छ

नेपालले अब विकासलाई केवल बजेट खर्चको हिसाबले हेर्नु हुँदैन ।

सडक बन्यो कि बनेन भन्ने मात्र होइन, त्यो सडक कति गुणस्तरीय र दिगो छ भन्ने प्रश्न महत्वपूर्ण हो ।

भवन बन्यो कि बनेन मात्र होइन, त्यसको सुरक्षा र उपयोगिता कस्तो छ भन्ने प्रश्न महत्वपूर्ण हो ।

पुल बन्यो कि बनेन मात्र होइन, त्यसले वर्षौँसम्म सुरक्षित सेवा दिन सक्छ कि सक्दैन भन्ने प्रश्न महत्वपूर्ण हो ।

त्यसैले विकास आयोजनामा गुणस्तर, प्राविधिक मापदण्ड, वातावरणीय पक्ष, दिगोपन र परिणामलाई प्राथमिकता दिनुपर्छ ।

डिजिटल शासन : नागरिकको समय बचाउने प्रविधि

अब सरकारी कार्यालयमा नागरिकले फाइल बोकेर कोठा–कोठा धाउने प्रणाली घटाउनुपर्छ ।

नागरिकता, राहदानी, कर, व्यवसाय दर्ता, भूमि प्रशासन, सामाजिक सुरक्षा तथा अन्य सार्वजनिक सेवाहरूलाई सुरक्षित डिजिटल प्रणालीसँग जोड्नुपर्छ ।

तर डिजिटल सरकार भनेको कागजलाई कम्प्युटरमा सार्नु मात्र होइन ।

सरकारी प्रक्रिया नै सरल, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउनु हो ।

प्रविधि भ्रष्टाचार घटाउने, समय बचाउने र राज्यप्रतिको विश्वास बढाउने माध्यम बन्नुपर्छ ।

यससँगै साइबर सुरक्षा, नागरिकको व्यक्तिगत तथ्यांकको गोपनीयता र ग्रामीण क्षेत्रमा डिजिटल पहुँचलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।

कम्युनिजम, समाजवाद, उदारवाद, राष्ट्रवाद वा अन्य कुनै विचारधारा होस्, अन्ततः त्यसले नागरिकको जीवनमा रोजगारी, शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, सम्मान र अवसर बढाउँछ कि बढाउँदैन भन्ने प्रश्न महत्वपूर्ण हुनुपर्छ ।

रोजगारी र उत्पादन : युवाको भविष्य

जेनजी आन्दोलनको भावनालाई सम्मान गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम युवाको भविष्य सुरक्षित गर्नु हो ।

युवालाई रोजगारीका लागि विदेश जान बाध्य पार्ने अवस्था अन्त्य गर्न देशभित्रै अवसर सिर्जना गर्नुपर्छ ।

प्राविधिक शिक्षा र सीपलाई उत्पादनसँग जोड्नुपर्छ ।

कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, निर्माण, उद्यमशीलता र स्थानीय अर्थतन्त्रलाई आधुनिक प्रविधिसँग जोड्नुपर्छ ।

विश्वविद्यालयलाई केवल प्रमाणपत्र दिने संस्था होइन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको केन्द्र बनाउनुपर्छ ।

विदेशमा रहेका नेपाली युवाले सिकेको ज्ञान, सीप, पूँजी र अनुभव नेपालमा प्रयोग गर्ने वातावरण बनाउन सकियो भने मात्र युवाको ऊर्जा आर्थिक शक्तिमा रूपान्तरण हुन सक्छ ।

अब घोषणाभन्दा कार्यान्वयन

एक वर्षको मूल्यांकन गर्दा उपलब्धि र कमजोरी दुवै स्वीकार गर्नुपर्छ ।

आन्दोलनपछि राहत, क्षतिपूर्ति, पुनस्र्थापना र सुधारका केही काम अघि बढेका छन् । तर आन्दोलनले उठाएका सबै संस्थागत प्रश्न अझै समाधान भएका छैनन् ।

त्यसैले अब सरकारको सफलता घोषणाको संख्याले होइन, ८८कार्यान्वयनको परिणामले८८ मापन हुनुपर्छ ।

सरकारले हरेक ठूलो योजनाको प्रगति सार्वजनिक गर्नुपर्छ । के भयो, के भएन र किन भएन भन्ने कुरा नागरिकलाई खुलस्त भन्न सक्नुपर्छ ।

जवाफदेहिता भनेको उपलब्धिको प्रचार मात्र होइन, असफलताको जिम्मेवारी लिन सक्ने राजनीतिक संस्कार पनि हो ।

अब अर्को आन्दोलन नपर्ने गरी शासन सुधार

जेनजी आन्दोलनको एक वर्षपछि नेपालको अगाडिको सबैभन्दा ठूलो चुनौती भनेको आन्दोलनले जन्माएको आशालाई निराशामा बदलिन नदिनु हो ।

आशालाई परिणाममा बदल्न सकिएन भने आजको समर्थन भोलिको असन्तुष्टिमा बदलिन सक्छ ।

त्यसैले अब सडकमा उठेको चेतनालाई संस्थामा बदल्नुपर्छ ।

सामाजिक आक्रोशलाई नीतिमा बदल्नुपर्छ ।

राजनीतिक परिवर्तनलाई प्रशासनिक सुधारमा बदल्नुपर्छ ।

प्रविधिलाई नागरिकको दैनिक जीवन सहज बनाउने साधनमा बदल्नुपर्छ ।

सरकार स्थिर होस्, तर जनताबाट टाढा नहोस् ।

युवा सरकारको समर्थक बनून्, तर विवेकपूर्ण प्रश्न गर्ने अधिकार नछोडून् ।

प्रशासन बलियो होस्, तर नागरिकमैत्री पनि होस् ।

विकास तीव्र होस्, तर गुणस्तरीय र दिगो पनि होस् ।

निष्कर्ष नेपालले परिवर्तन पायो, अब परिणाम पाउन बाँकी छ

जेनजी आन्दोलनको एक वर्षलाई न त केवल विजयको उत्सवका रूपमा मनाउनुपर्छ, न त केवल विगतका पीडाको स्मरणमा सीमित गर्नुपर्छ । यो आत्मसमीक्षाको अवसर हो ।

नेपालले आन्दोलनबाट नयाँ राजनीतिक चेतना, नयाँ नेतृत्वको सम्भावना, बलियो जनादेश र सुशासनको नयाँ अपेक्षा पाएको छ ।

तर नेपालले मानवीय जीवन, अर्बौँको भौतिक सम्पत्ति, संस्थागत संरचना र राजनीतिक स्थिरताको मूल्य पनि चुकाएको छ ।

त्यसैले जेनजी आन्दोलन न पूर्ण विजय हो, न पूर्ण असफलता । यो एउटा अधुरो राजनीतिक परियोजना हो ।

आन्दोलनले सत्ता परिवर्तनको ढोका खोल्यो । निर्वाचनले त्यस परिवर्तनलाई जनादेश दियो । अब सरकारसँग त्यो जनादेशलाई परिणाममा बदल्ने जिम्मेवारी छ ।

अन्ततः जेनजी आन्दोलनको वास्तविक सफलता कति सरकार बदलिए भन्ने कुराले होइन, ८८कति नागरिकको जीवन बदलियो भन्ने कुराले निर्धारण गर्नेछ ।

यदि भ्रष्टाचार घट्यो, रोजगारी बढ्यो, सार्वजनिक सेवा सहज भयो, कानून सबैका लागि समान भयो, विकास गुणस्तरीय र दिगो भयो तथा सरकार नागरिकप्रति जवाफदेही बन्यो भने नेपालले जेनजी आन्दोलनबाट धेरै पाएको मान्न सकिन्छ ।

तर यदि सत्ता र नेतृत्व मात्र बदलिए, शासनको संस्कार बदलिएन भने आन्दोलनको मूल उद्देश्य अझै अधुरै रहनेछ ।

किनकि अन्ततः सत्ताको परिवर्तनले मात्र इतिहास बदलिँदैन, शासनको संस्कार बदलिँदा मात्र देश बदलिन्छ ।