पृथ्वी राजमार्ग बन्द, काठमाडौँ आउजाउ राेकियाे


धादिङको थाक्रे गाउँपालिका-२ स्थित बाह्रकिलो क्षेत्रमा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ।

बुधबार (आज) बिहान केही बेरअघि सडक माथिबाट ठुलो सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।

सडक माथिबाट पहिरोसँगै ढुंगा झर्ने क्रमसमेत जारी रहेकाले तत्काल पहिरो पन्छाउने काममा कठिनाइ भएको प्रहरीले जनाएको छ।

पहिरो पन्छाउन सडक डिभिजन तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको भए पनि माथिबाट निरन्तर ढुंगा र माटो झरिरहेकाले सडक खुलाउन केही समय लाग्ने बताइएको छ।

धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले जोखिम मोलेर पहिरो पन्छाउने अवस्था छैन।

माथिबाट ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै सुरक्षित रूपमा सडकमा जम्मा भएको पहिरो हटाउने काम अघि बढाइने उनले जानकारी दिए।

राजमार्ग बन्द भएपछि काठमाडौँ भित्रिने तथा काठमाडौँबाट बाहिरिने सवारीसाधन बाह्रकिलो क्षेत्रमा रोकिएका छन्।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। तर माथिबाट ढुंगा झर्ने क्रम जारी रहेकाले सडक पूर्णरूपमा सुरक्षित भएपछि मात्रै यातायात सञ्चालन गरिने बताइएको छ।