जिल्ला अस्पताल फाप्लुमा कार्यरत चिकित्सक डा. रामबाबु जोशी अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुनुभएको छ।
न्युजिल्यान्डमा सम्पन्न २१औँ वाङ्का वर्ल्ड रुरल हेल्थ कन्फरेन्स (विश्व ग्रामीण स्वास्थ्य सम्मेलन) मा उहाँलाई रुरल वाङ्का अवार्ड्स अन्तर्गत “बेस्ट लाइटनिङ टक २०२६” प्रदान गरिएको हो।
ग्रामीण समुदाय, ग्रामीण स्वास्थ्य प्रणाली तथा ग्रामीण स्वास्थ्य जनशक्तिको सुदृढीकरणमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। सम्मानपत्र वाङ्का वर्किङ पार्टी अन रुरल प्राक्टिसका अध्यक्ष डा. प्रत्युष कुमार तथा हाउओरा ताइव्हेनुआ रुरल हेल्थ नेटवर्ककी अध्यक्ष डा. फियोना बोल्डेनले संयुक्त रूपमा हस्ताक्षर गरी सम्मेलनका क्रममा डा. जोशीलाई हस्तान्तरण गर्नुभएको थियो।
सम्मेलनमा डा. जोशीले सोलुखुम्बुमा स्वास्थ्य सेवा प्रवाह गर्दाका वास्तविक अनुभव, चुनौती र सफलताका कथाहरू प्रस्तुत गर्दै दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो। एमडी (इन्टर्नल मेडिसिन तथा इमर्जेन्सी मेडिसिन) विशेषज्ञ डा. जोशीले विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लामा करिब एक लाख जनसङ्ख्यालाई सीमित स्रोतसाधनका बीच स्वास्थ्य सेवा उपलब्ध गराउनुपरेको अवस्था प्रस्तुत गर्नुभएको थियो।
उहाँले अस्पताल नजिकै विमानस्थल भए पनि प्रतिकूल मौसमका कारण नियमित उडान हुन नसक्दा बिरामीको आकस्मिक उद्धार र उपचारमा गम्भीर चुनौती सिर्जना हुने गरेको उल्लेख गर्नुभयो। साथै, ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभावका कारण सामान्य चिकित्सकहरूले नै जटिल शल्यक्रियादेखि आकस्मिक उपचारसम्मका जिम्मेवारी बहन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो।
सन् १९७५ मा हिमालयन ट्रस्टमार्फत स्थापना भई १९८५ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको जिल्ला अस्पताल फाप्लुमा एकमात्र कन्सल्टेन्ट चिकित्सकका रूपमा कार्यरत डा. जोशीले सीमित जनशक्ति र साधनका बीच आकस्मिक सेवा, शल्यक्रिया तथा विभिन्न जटिल बिरामीको उपचार गर्दै आउनुभएको छ। उहाँका अनुसार प्राथमिक तथा द्वितीय तहको अस्पताल भए पनि फाप्लु अस्पतालले धेरै अवस्थामा तेस्रो तहको अस्पतालसरह सेवा दिनुपरेको छ।
सम्मेलनमा डा. जोशीले सीमित स्रोतसाधनका बीच सफलतापूर्वक उपचार गरिएका केही जटिल घटनाहरू पनि प्रस्तुत गर्नुभयो। अर्गानोफस्फोरस विष सेवन गरी गम्भीर अवस्थामा अस्पताल पुगेकी २५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखी ७०० मिलिलिटरसम्म एट्रोपिन प्रयोग गरेर पाँच दिनपछि सकुशल घर फर्काइएको अनुभव उहाँले सुनाउनुभयो।
त्यस्तै, आधुनिक उपकरणको अभावमा ५० मिलिलिटरको सिरिन्ज र राइस ट्युब प्रयोग गरी नेगेटिभ सक्सन उपकरणको विकल्प तयार गरिएको, फोली क्याथेटरको सिर्जनात्मक प्रयोगबाट जटिल शल्यक्रिया सम्पन्न गरिएको तथा एङ्गुलर प्रेग्नेन्सीका कारण ज्यान जोखिममा परेकी आमाको आकस्मिक हिस्ट्रेक्टोमी गरी जीवन बचाइएको उदाहरण प्रस्तुत गर्नुभयो।
यसका साथै जन्मँदै मुटुको धड्कन प्रतिमिनेट ४० भन्दा कम रहेको र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको समयपूर्व जन्मिएको शिशुलाई निरन्तर ब्याग–मास्क भेन्टिलेसन र चेस्ट कम्प्रेसनमार्फत नयाँ जीवन दिन सफल भएको अनुभव पनि उहाँले साझा गर्नुभयो।
डा. जोशीले सीमित स्रोतसाधन, विशेषज्ञ जनशक्तिको अभाव र कठिन भौगोलिक अवस्थाका बाबजुद ग्रामीण अस्पतालहरूले नवप्रवर्तन, दक्षता र समर्पणका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो। उहाँका प्रस्तुत सफलताका कथाले कठिन भूगोल र सीमित साधनका बीच पनि नेपाली चिकित्सकहरूले निरन्तर जीवन रक्षाका लागि गरिरहेको संघर्ष र समर्पणलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उजागर गरेको छ।

प्रतिक्रिया