बुढानीलकण्ठ यू–१६ ब्वाइज टी–वान रग्बी प्रतियोगिता आगामी असोज २ गते काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–१०, आकाशेधारास्थित ह्यान्डबल बहुउद्देश्यीय खेल मैदानमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा २० विद्यालयका टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।कपनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगले प्रतियोगिताबारे जानकारी दिएको हो।
आयोगका अध्यक्ष जे.बी. (दीपक) अधिकारीका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ।प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने टोलीलाई ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।
विद्यालय तथा कलेजस्तरमा रग्बी खेलको विकास र विस्तार गर्ने उद्देश्यले आयोगले नियमित प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको अध्यक्ष अधिकारीले बताए। विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आगामी दिनमा थप विद्यालयमा प्रशिक्षण तथा प्रतियोगिता विस्तार गर्ने आयोगको योजना छ।
यसै महिनामा आयोगले ब्वाइज तथा गल्र्सतर्फ २२ टोलीको सहभागितामा रग्बी प्रतियोगिता आयोजना गरेको थियो।२०७५ सालमा गठन भएको आयोगले देशका सातै प्रदेशमा विद्यालय तथा कलेजस्तरमा रग्बी खेल विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आयोगका अनुसार हाल देशभर एक सयभन्दा बढी विद्यालयमा रग्बीको नियमित प्रशिक्षण भइरहेको छ।
विद्यार्थीलाई रग्बी खेलप्रति आकर्षित गर्दै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण र प्रतियोगितालाई प्राथमिकता दिइएको आयोगले जनाएको छ।

प्रतिक्रिया