ओखलढुंगामा ट्र्याक्टर दुर्घटना

दुई जनाको मृत्यु


ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरमा ढुंगा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो । बुधबार बिहान करिब ११ बजे मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा लु ४ त १६७२ नम्बरको ट्र्याक्टर ढुंगा लोड गरी मानेभञ्ज्याङतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्र्याक्टर चालक मिलन राईलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले नियन्त्रणमा लिएको छ । घटनास्थलमा २९ वर्षीय तुलसी थापा मगर र २८ वर्षीय भीमबहादुर सार्की पनि सकुशल भेटिएका छन् । अन्य केहीले हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक खुदु मुर्मुको कमाण्डमा २ जना तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको अनुसन्धान भइरहेको जनाएको छ।