‘सरकार चलाएको कि गुण्डाराज ?’ प्रधानमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न


नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले गुण्डाराज चलाएको आरोप लगाएका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ मा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले प्रधानमन्त्री शाहलाई सरकार सञ्चालन गरिरहेको हो कि गुण्डाराज चलाइरहेको भन्दै प्रश्न गरेका हुन्।

उनले प्रधानमन्त्रीको मातहतमा रहेको जेलभित्र व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर बयान लिन खोजिएको आरोप लगाए। इनम सापकोटालाई पार्टी सभापतिविरुद्ध बयान दिन प्रधानमन्त्रीकै निर्देशनमा दबाब दिइएको हो वा सम्बन्धित व्यक्तिले आफ्नै तवरबाट यस्तो गरेको हो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

पौडेलले यदि प्रधानमन्त्रीकै निर्देशनमा यस्तो भएको भए सत्ताको दुरुपयोग भएको र अन्य व्यक्तिको संलग्नता भए उनीहरूलाई कारबाही गर्नुपर्ने बताए।

त्यस्तै, सभापतिको घर, पत्रकारको निवास र सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याएर तर्साउने, पत्रकारलाई पक्राउ गर्ने तथा सञ्चारमाध्यमका कार्यालयमा खानतलासी गर्ने गतिविधिप्रति पनि उनले आपत्ति जनाए।

सरकारले अरूमाथि प्रश्न उठाउनुअघि आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिन सक्नुपर्ने पौडेलको भनाइ थियो।