अध्यादेश फिर्ता लिन र संसद् अधिवेशन बोलाउन कांग्रेसको माग


नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकारले शासकीय अराजकता मच्चाएको आरोप लगाएको छ। कांग्रेसले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढेको टिप्पणी गरेको छ।

केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीले संसद् छल्ने काम गरेर व्यवस्थापिकाको अपमान गरेको बताए।

उनका अनुसार कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अङ्गमाथि हस्तक्षेप र नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। प्रधानमन्त्रीले राष्ट्रपतिजस्तो गरिमामय संवैधानिक संस्थाको समेत अवमूल्यन गर्ने व्यवहार देखाएको उनको आरोप छ।

पौडेलले संविधानका प्रावधानसँगै त्यसको भावना, लोकतान्त्रिक परम्परा, संस्थागत मर्यादा र विधि प्रक्रियाको सम्मान गर्नु सरकारको कर्तव्य भएको बताए। संविधानबाट प्राप्त अधिकार प्रयोग गर्ने तर त्यसले निर्धारण गरेका सीमा, मर्यादा र दायित्व स्वीकार नगर्ने प्रवृत्ति लोकतन्त्रका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

कांग्रेसले संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका विभिन्न अङ्गहरूको अवमूल्यन र मानमर्दन गर्ने सरकारको प्रवृत्तिप्रति आपत्ति जनाएको छ।

त्यस्तै, प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका विभिन्न अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसले माग गरेको छ।

कांग्रेसले संसद्को अधिवेशन आह्वान गर्न तथा संवैधानिक सीमा र संस्थागत मर्यादाको पूर्ण पालना गर्न पनि सरकारसँग आग्रह गरेको छ।