सङ्घीय संसद् तथा प्रदेशसभाको भूमिका थप बलियो र प्रभावकारी बनाउन आपसी समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ ।
शुक्रबारदेखि पोखरामा सुरु भएको सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा वक्ताहरूले व्यवस्थापिकाको भूमिका कमजोर हुन नदिन संसद्का कामकारबाहीलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाहरूले धेरै कानुन निर्माण गरे पनि तिनको कार्यान्वयन अवस्था र संशोधन गर्नुपर्ने विषयमा समीक्षा आवश्यक रहेको बताए । कानुन र संविधानको पूर्ण पालना गराउन व्यवस्थापिकाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभाहरूले आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्ने धारणा राखे ।
त्यस्तै, सङ्घीयताका विज्ञ खिमलाल देवकोटाले संविधानको मुख्य आधारस्तम्भ सङ्घीयता भएकाले यसको संरक्षण र संवर्द्धनका लागि सङ्घीय संसद् र प्रदेशसभाहरू एकसाथ अघि बढ्नुपर्ने बताए । उनले कार्यक्रमले प्रदेशसभाको भूमिका प्रभावकारी बनाउन तथा असल अभ्यास आदान–प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेलले विधायिकी प्रक्रिया र कानुन निर्माणमा एकरूपता कायम गर्दै निर्मित कानुनको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दिए । उनका अनुसार कार्यक्रममा वित्तीय सङ्घीयता र स्वायत्तताको अभ्यासलगायत विषयमा छलफल हुनेछ ।
सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूबीचको नियमित संवादले आपसी समन्वय बलियो बनाउनुका साथै विगतमा भएका घोषणापत्र कार्यान्वयनमा समेत सहयोग पुग्ने उनले बताए ।
गण्डकी प्रदेशसभा सचिवालयद्वारा आयोजित कार्यक्रममा सङ्घीय संसद् र सातवटै प्रदेशसभाका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया