अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को उपाधि सेनेगलको नाममा पुनः कायम भएको छ। खेलकुदसम्बन्धी विवाद समाधान गर्ने सर्वोच्च निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले सेनेगलको अपिल स्वीकार गरेपछि उपाधि पुनः उसकै नाममा कायम भएको हो।
यसअघि अफ्रिकी फुटबल महासंघ (काफ) ले विवादास्पद निर्णय गर्दै सेनेगलबाट उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। कासको पछिल्लो निर्णयसँगै मोरक्कोको उपाधि खोसिएको छ।
गत जनवरी १८ मा मोरक्कोको राजधानी रबातमा भएको फाइनलमा सेनेगलले आयोजक मोरक्कोलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो। तर खेलका क्रममा भएको विवादपछि काफले गत मार्चमा सेनेगललाई खेल बहिष्कार गरेको ठहर गर्दै मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो।
खेलको दोस्रो हाफमा मोरक्कोले पेनाल्टी पाएपछि सेनेगलका खेलाडीले विरोधस्वरूप मैदान छाडेका थिए। करिब १४ देखि १५ मिनेटपछि मैदान फर्किएको सेनेगलले अतिरिक्त समयमा पापे गुएयेको गोलमार्फत जित निकालेको थियो। उक्त खेलमा मोरक्कोका ब्राहिम डियाजले पेनाल्टीमा गोल गर्न सकेका थिएनन्।
काफको निर्णयविरुद्ध सेनेगलले कासमा अपिल गरेको थियो। कासका महासचिव म्याथ्यु रिबका अनुसार फ्रान्सेली खेलकुद कानुनका विज्ञ जेराल्ड सिमोनको नेतृत्वमा रहेको इजलासले रेफ्रीबाट कानुनी त्रुटि नभएको निष्कर्ष निकालेको छ।
सेनेगल फुटबल संघले काफको निर्णयले फुटबलका विश्वव्यापी नियम र रेफ्रीको निर्णयको अन्तिम मान्यतामाथि असर पार्न सक्ने दाबी गर्दै त्यसलाई चुनौती दिएको थियो।
कासको पछिल्लो निर्णयसँगै सेनेगलले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको मान्यता पाएको छ।

प्रतिक्रिया