भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई उनका दिवंगत पिता डा. रामनारायण शाहको विद्यार्थी जीवनको पुरानो तस्बिर उपहार दिएका छन्। बालेनको पहिलो भारत भ्रमणका क्रममा मोदीले दिएको उक्त तस्बिरले दुई प्रधानमन्त्रीबीचको उपहार आदानप्रदानलाई विशेष बनाएको छ।
मोदीले बालेनका पिता रामनारायणले गुजरातको जामनगरस्थित गुजरात आयुर्वेद विश्वविद्यालयमा अध्ययन गर्दाको तस्बिर उपहार दिएका हुन्। रामनारायणले सन् १९९४ देखि १९९८ सम्म उक्त विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ पोस्ट ग्राजुएट टिचिङ एन्ड रिसर्च इन आयुर्वेदमा कायचिकित्सा विषयमा स्नातकोत्तर गरेका थिए।
संस्थानकी निर्देशक डा. तनुजा नेसारीका अनुसार रामनारायण त्यतिबेला नेपाल सरकारका मेडिकल अफिसरका रूपमा कार्यरत थिए। उच्च शिक्षा हासिल गर्न भारत पुगेका बेला उनका छोरा बालेन पनि जामनगर पुगेका थिए। उनले त्यहाँको विश्वविद्यालयको छात्रावासमा केही दिन बिताएको नेसारीले बताएकी छन्।
सन् १९४८ मा महोत्तरीको एकडारा गाउँमा जन्मिएका रामनारायणले आयुर्वेद चिकित्सालाई आफ्नो पेसा बनाएका थिए। भारतमा उच्च शिक्षा पूरा गरेपछि नेपाल फर्किएका उनले सरकारी आयुर्वेद चिकित्सकका रूपमा काम गरेका थिए। उनले सन् २००१ देखि २००५ सम्म सिंहदरबार वैद्यखानाको प्रबन्ध निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। उनको गत वर्ष ७७ वर्षको उमेरमा निधन भएको थियो।
पिताको विद्यार्थी जीवनसँग जोडिएको तस्बिरबाहेक मोदीले बालेनलाई वाराणसीको गंगाजल, बनारसी ब्रोकेडको रेशमी शाल र रामायणको सम्पूर्ण कथा चित्रण गरिएको कलमकारी चित्रसमेत उपहार दिएका थिए।
त्यसैगरी, प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथसँग सम्बन्धित सामग्री उपहार दिएका थिए। उच्चस्तरीय भेटवार्तामा औपचारिक उपहार आदानप्रदान हुने परम्पराबीच पिताको पुरानो तस्बिरले यसपटकको भ्रमणमा व्यक्तिगत र भावनात्मक पक्षसमेत जोडेको छ।

प्रतिक्रिया