ग्यासको आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन


नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभर ग्यास आपूर्ति व्यवस्थालाई थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई यस्तो निर्देशन दिएको हो।

निगमले बजारको मागअनुसार एलपी ग्यासको आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन तथा उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न भनेको छ।

त्यस्तै, ग्यास विक्रेता तथा बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरेर उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि उद्योगहरूलाई निर्देशन दिइएको छ।

निगमका अनुसार ग्यास आपूर्ति व्यवस्थाका तीन प्रमुख पक्ष—आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरणलाई एकीकृत रूपमा परिचालन गरिनेछ। आपूर्ति शृङ्खलामा अवरोध आउन नदिन आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय आवश्यक रहेको निगमले जनाएको छ।

यसैबीच निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ। कृत्रिम अभाव सिर्जना हुने गतिविधिमा संलग्न नहुन पनि निगमले सबैलाई अनुरोध गरेको छ।

ग्यासको नियमित आपूर्ति कायम राख्दै बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले यो निर्देशन जारी गरिएको निगमले जनाएको छ।