संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
समितिले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो।
समिति सभापति भरतबहादुर खड्काले ठेक्का रद्दसम्बन्धी आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्। कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने उनले बताए।
टेन्डरका सबै प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो। उक्त प्रक्रिया त्रुटिपूर्ण रहेको दाबीसहित परेको उजुरीका आधारमा समितिले छलफल थालेको हो।
छलफलका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन्।
आयोजनामार्फत बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु २०८१ वैशाख २६ गते भएको थियो। तर, त्यसपछि आयोजनाको थप काम अघि बढ्न सकेको छैन।

प्रतिक्रिया