अयोध्याबाट जनकपुर आइपुग्यो सरयू कमला एक्सप्रेस


भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जनकपुरधामका लागि छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ।

सोमबार दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुग्दा सरकारी प्रतिनिधि तथा स्थानीयवासीले नेपाल र भारतका राष्ट्रिय झण्डा फहराउँदै रेल र त्यसमा सवार तीर्थयात्रीको स्वागत गरेका छन्। स्वागतका क्रममा तीर्थयात्रीलाई फूलमाला लगाएर सम्मानसमेत गरिएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट संयुक्त रूपमा झण्डा देखाएर रेलसेवाको उद्घाटन गरेपछि सरयू कमला एक्सप्रेस जनकपुरधामका लागि प्रस्थान गरेको थियो।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आइपुगेका छन्। रेल्वे स्टेशनमा तीर्थयात्रीको स्वागतका लागि विभिन्न व्यवस्था मिलाइनुका साथै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

जनकपुरधाम आइपुगेका तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम छ। जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार तीर्थयात्रीको दर्शन तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाइएको छ।

तीर्थयात्रीले जनकपुरधामका धार्मिक स्थलको अवलोकन गरेपछि दिउँसो साढे १२ बजेसम्म रेल्वे स्टेशन फर्किनुपर्नेछ। उनीहरूलाई खाजा खुवाएर दिउँसो १ बजेसम्म रेलमार्फत भारत फर्काउने तालिका रहेको पराजुलीले जानकारी दिएका छन्।

जनकपुरधाम र अयोध्यालाई जोड्ने यस रेलसेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

भगवान् रामको जन्मभूमि अयोध्या र माता जानकीको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस सेवाले दुई देशबीच धार्मिक पर्यटन तथा तीर्थाटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ।