तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा व्यवसायी चिन्तित


नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पूर्ण रूपमा सञ्चालनमा नआउँदा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । लामो समयदेखि नाका नियमित सञ्चालनमा आउन नसक्दा व्यापार–व्यवसाय प्रभावित भएको भन्दै उनीहरूले सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले नाका सञ्चालनको विषयमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाले नाका नियमित सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा सहभागी व्यवसायीले लामो समयदेखि नाका अवरुद्ध र अनिश्चित रहँदा कतिपय व्यवसायी पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए । सन् २०१५ को भूकम्पपछि पटकपटक बन्द हुँदै आएको नाका नियमित सञ्चालनका लागि चीनसँग सरकारले स्पष्ट संवाद गर्नुपर्ने उनीहरूको माग छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले व्यवसायीहरू नाकाबाट व्यापार हुने आशा गुमाउने अवस्थामा पुगेको बताए । सरकारले उच्चस्तरीय पहल नगरे व्यवसायीले तातोपानी नाकाबाट कारोबार गर्न नसक्ने अवस्था आउने उनको भनाइ छ ।

नेपाल हिमालय सिमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीले तातोपानी नाकाका लागि पठाइएका सामान नाकामा आइपुग्ने समयमा अचानक बन्द हुने समस्या रहेको बताए । बाध्य भएर केरुङ नाकातर्फ सामान पठाउँदा त्यहाँ पनि विभिन्न समस्या आउने गरेको उनले सुनाए ।

नेपाल ट्रान्स–हिमालयन सीमा व्यापार सङ्घका प्रतिनिधि रामचन्द्र पौडासैनीले चीनसँग प्रत्यक्ष कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिए । आवश्यक परे प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा चीनस्थित नेपाली राजदूतमार्फत पहल गरी सरकारी प्रतिनिधिमण्डल नै वार्ताका लागि चीन पठाउनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठले नाकाको अनिश्चितताले व्यवसायी मात्र नभई राष्ट्रिय स्तरमै वस्तु आपूर्तिमा असर पार्ने बताए । उनले नाका क्षेत्रमा पहिरो नियन्त्रण, सडक स्तरोन्नति र सरकार–सरकार (जीटूजी) तहमा वार्ता गर्नुपर्ने आवश्यकता औँल्याए ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले नाका सञ्चालनका लागि पटकपटक सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराउँदा पनि अपेक्षित पहल नभएको बताए । चिनियाँ अधिकारीहरूसँगको छलफलमा नेपाल सरकारले नै चासो नदेखाएको भन्ने जवाफ आउने गरेको उनको भनाइ छ ।

सांसद पराजुलीले सरोकारवालाका समस्या र माग सरकारसमक्ष पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले तातोपानी नाका र लिपिङ क्षेत्रको स्थलगत अवलोकन गरेको उल्लेख गर्दै चीनले भूकम्पबाट क्षतिग्रस्त खासा क्षेत्रमा आधुनिक प्रविधियुक्त स्मार्ट सिटी निर्माण गरिरहेको जानकारी दिए ।