नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले इशान पाण्डेसँग चौथो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । इशानले २७ रन बनाए ।
सुदूरपश्चिमको सुरुवात भने खराब रह्यो । जर्ज मन्से पहिलो बलमै आउट भए भने तानुका दबारे र विनोद भण्डारी पनि सस्तैमा पभेलियन फर्किए । ३.१ ओभरमा ८ रन जोड्दा ३ विकेट गुमाएको टोलीलाई दीपेन्द्र र इशानले सम्हालेका थिए ।
इशान रनआउट भएपछि सुदूरपश्चिमले लगातार विकेट गुमायो । थरिन्दु रत्नायके १६औँ ओभरमा शेर मल्लको बलमा बोल्ड भए भने आरिफ शेख ४ रनमा आउट भए । कप्तान दीपेन्द्र अन्तिम ओभरमा क्याच आउट भए । स्कट कुगेलेइन ७ रनमा रनआउट भए भने अनिल खरेल २ रनमा अविजित रहे ।
लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले १–१ विकेट हात पारे ।
पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

प्रतिक्रिया