भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीका रूपमा आफ्नो यात्रा टुंग्याएका छन् । चेन्नई सुपर किंग्स (सीएसके) का पूर्वकप्तान धोनी अब मेन्टरको भूमिकामा फ्रेन्चाइजसँग जोडिने भएका छन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार धोनीले मंगलबार आईपीएलबाट सन्यास लिने निर्णय गरेका हुन् । चेन्नई सुपर किंग्सले उनलाई सन् २०२७ को आईपीएलदेखि लागू हुने गरी टिम मेन्टरको जिम्मेवारी दिएको छ ।
चेन्नईले सार्वजनिक गरेको घोषणामा धोनीलाई फ्रेन्चाइजको यात्राको सुरुदेखिकै अभिन्न हिस्सा भन्दै नयाँ भूमिकामा स्वागत गरेको छ । अब उनले टोलीका नयाँ पुस्ताका खेलाडीलाई मार्गदर्शन गर्नेछन् ।
४५ वर्षीय धोनीको आईपीएल करियर अन्त्य हुनुमा पछिल्लो समय देखिएको चोट र फिटनेस समस्या पनि कारण बनेको छ । पिँडुलाको चोटका कारण उनले सन् २०२६ को आईपीएलमा एउटा पनि खेल खेल्न पाएनन् । उनले पछिल्लोपटक सन् २०२५ को आईपीएल खेलेका थिए ।
त्यस सिजन नियमित कप्तान रुतुराज गायकवाड चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि धोनीले बीचमै चेन्नईको कप्तानी सम्हालेका थिए ।
सन् २००८ मा आईपीएल सुरु भएदेखि नै धोनी प्रतियोगिताका प्रभावशाली खेलाडीमध्ये एक रहँदै आएका छन् । उनको कप्तानीमा चेन्नई सुपर किंग्सले पाँचपटक आईपीएल उपाधि जितेको छ । सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा चेन्नईले उपाधि जित्दा धोनी नै टोलीको कप्तान थिए ।
मैदानमा शान्त स्वभाव, दबाबमा निर्णय लिन सक्ने क्षमता र खेललाई आफ्नो पक्षमा पार्ने शैलीका कारण उनी समर्थकमाझ ‘थाला’ नामले लोकप्रिय छन् ।
धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । त्यसपछि पनि उनले आईपीएल खेल्न जारी राखेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भएको ६ वर्षपछि अब उनको आईपीएल खेलाडी जीवनसमेत समाप्त भएको छ ।
यसैबीच, चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिवासनले धोनी खेलाडीका रूपमा सक्रिय भूमिकाबाट अलग भएर मेन्टर बन्न लागेको बताएका छन् । उनले धोनीबिना चेन्नई सुपर किंग्सको कल्पना गर्न नसकिने उल्लेख गरेका छन् ।
‘महेन्द्रसिंह धोनीबिना सीएसके छैन । झन्डै दुई दशकदेखि हामीले सफलता, असफलता र अनेक उतारचढावमा सँगै यात्रा गरेका छौँ,’ श्रीनिवासनले भनेका छन् ।
उनले सन् २००८ मा धोनीलाई चेन्नईको टोलीमा आबद्ध गराउन आफूले जोड दिएको र त्यो निर्णय फ्रेन्चाइजका लागि सफल साबित भएको बताएका छन् । धोनी सधैँ चेन्नई सुपर किंग्सको पहिचानको हिस्सा रहने र टोली उनका लागि घरजस्तै भएको पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया