नुवाकोटमा भदौ १० गतेको बाढीबाट विस्थापित भएका पीडितहरूले विपद् गएको ८४ दिन बितिसक्दा पनि पुनर्स्थापना नभएको भन्दै खाली जग्गा कब्जा गरी बस्न थालेका छन् ।
विदुर नगरपालिका–१ का घरबारविहीन बनेका १५० भन्दा बढी बाढीपीडितले विदुर नगरपालिका–९ स्थित नेपाल विद्युत् प्राधिकरणको खाली जग्गामा टेन्ट टाँगेर बस्न सुरु गरेका हुन् ।
बाढी गएको तीन महिना पुग्न लाग्दासमेत सरकारले सुरक्षित बासस्थानको व्यवस्था नगरेपछि बाध्य भएर आफैँले बस्ती बसाउन थालेको स्थानीय महेन्द्र श्रेष्ठले बताए । पीडितहरूले प्राधिकरणको खाली जग्गा सफा गरी जेसीबीको सहायताले सम्याएर टेन्ट टाँगी बस्न थालेका छन् ।
चिसो बढ्दै गए पनि स्थायी वा सुरक्षित आवासको विकल्प नहुँदा चिसो भुइँमा टेन्ट हालेर बस्नुपरेको उनीहरूको गुनासो छ ।
‘हामीलाई तत्काल राहतभन्दा पनि बस्ने स्थानको सुनिश्चित गरियोस्,’ श्रेष्ठले भने, ‘बासस्थानको टुङ्गो नभएपछि गर्ने चाहिँ के त ?’
उनका अनुसार बाढीले विदुर नगरपालिका–१ मा मात्रै १६२ घर बगाएको थियो भने ९२ जनाको मानवीय क्षति भएको थियो । यति ठूलो क्षति हुँदा पनि स्थानीय तथा केन्द्र सरकारबाट पुनर्स्थापनाका लागि ठोस पहल नभएको उनको आरोप छ ।
पीडितहरूले पटक–पटक सुरक्षित बासस्थानको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरे पनि आश्वासन मात्रै पाएको बताएका छन् । नगरपालिकाले बसोबासयोग्य समथर जमिन खोज्नुको सट्टा डाँडोपाखो देखाएर पन्छिन खोजेको श्रेष्ठको गुनासो छ ।
विभिन्न संघसंस्थाले उपलब्ध गराएका टेन्टमा अहिले विस्थापित परिवारहरू बसिरहेका छन् । उनीहरूले राहतभन्दा पनि सुरक्षित बसोबासको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
सरकारी प्रतिनिधिहरू विपद् प्रभावित क्षेत्रमा आउने, फोटो खिच्ने र विवरण संकलन गर्ने गरे पनि पुनर्स्थापनाका लागि ठोस काम नगरेको भन्दै पीडितहरूले असन्तुष्टि जनाएका छन् ।
आफूहरूको माग सम्बोधन नभए अधिकारका लागि थप संघर्ष गर्ने चेतावनीसमेत श्रेष्ठले दिएका छन् ।

प्रतिक्रिया