पुनर्बहाली भए पनि दानबहादुरलाई काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अदालतबाट पुनर्बहाली भए पनि काम गर्न नदिने चेतावनी दिएका छन् ।

हिमालय टीभीसँगको कुराकानीमा चौधरीले कार्कीलाई पुनः आईजीपीका रूपमा जिम्मेवारी दिन नहुने बताएका हुन् ।

‘म तपाईँलाई यत्ति भन्छु– जस्ट इन केस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्‍यो भने पनि आईजीपी बन्नुहुन्न् । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब’, उनले भने ।

कार्कीबाट प्रहरी संगठन सञ्चालन हुन नसक्ने दाबी गर्दै चौधरीले उनलाई पूर्ववत् जिम्मेवारीमा फर्कन नदिन सरकारले अन्य वैधानिक विकल्प खोज्न सक्ने संकेतसमेत गरेका छन् ।

सरकारले नयाँ पद सिर्जना गर्दै कार्कीलाई आईजीपी पदबाट हटाएपछि उनी पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका हुन् । उनले कात्तिक २० गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिटमाथि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइका लागि मंसिर ३ गतेको मिति तोकेको छ । यसअघि कात्तिक ३० गतेका लागि सुनुवाइको मिति तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ सरेको थियो ।