राष्ट्रिय कर दिवसमा सूर्य नेपालदेखि भाटभटेनीसम्म सम्मानित


सरकारले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको हो । व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालि सर्वोत्कृष्ट करदाता घोषित भएका छन् ।

विभागले वस्तु निर्याततर्फ डाबर नेपाल, विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्सलाई सम्मान गरेको छ । कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स र ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी उत्कृष्ट करदाता बनेका छन् ।

वित्तीय क्षेत्रतर्फ नबिल बैंक, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएका छन् । रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेडले सम्मान पाएको छ ।

त्यस्तै, सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल उत्कृष्ट करदाता घोषित भएका छन् ।

मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिस्टिलरी र एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल सम्मानित भएका छन् । वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा इम्पेरियल सेक्युरिटिज तथा ५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टरले सम्मान पाएका छन् ।

यसैगरी, प्रतिकूल परिस्थितिमा पनि व्यवसाय सञ्चालन, रोजगारी सिर्जना र राजस्वमा योगदान पुर्‍याएको भन्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरिएको छ ।