नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ ।
लिग चरणमा लुम्बिनी सात खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।
दुवै टोली पछिल्लो लयमा छन् । लुम्बिनीले पछिल्ला पाँचमध्ये चार खेल जितेको छ भने सुदूरपश्चिमले लगातार चार खेलमा जित निकालेको छ ।
यस संस्करणको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो । गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
लुम्बिनीका लागि डार्सी सर्ट, आसिफ शेख र कप्तान रोहित पौडेल महत्वपूर्ण खेलाडी हुन् । सर्टले लिग चरणमा १४८ रन बनाएका छन् । बलिङमा शेर मल्लले नौ तथा रुबेन ट्रम्पलम्यान र किशोर महतोले समान आठ विकेट लिएका छन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले लिग चरणमा १५० रन बनाउनुका साथै पाँच विकेट लिएका छन् । बलिङमा अनिल खरेलले १० र स्कट कुगेलाइनले नौ विकेट लिएका छन् ।
लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने अभियानमा छ । पछिल्ला दुई भेटमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम आज जित निकाल्दै त्यसको बदला लिने प्रयासमा हुनेछ ।

प्रतिक्रिया