स्थानीय चुनावको तयारीमा एमाले, राष्ट्रिय भेला मंसिर २ देखि


नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने जानकारी दिएका हुन् ।

उनका अनुसार पार्टीको इतिहासमा पहिलोपटक केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । सहभागी संख्याका आधारमा यसलाई महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा लिइएको उनले बताए ।

भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी, पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने र पार्टीका निर्णय तथा राजनीतिक बुझाइमा एकरूपता कायम गर्ने अवसरका रूपमा लिएको छ ।

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन् । साथै, केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामबारे मार्गनिर्देशन गर्ने कार्यक्रम छ ।

त्यस्तै, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् ।

भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन् । महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।

एमालेले भेलामा सहभागीहरूबाट स्थानीय तह निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गर्ने जनाएको छ । भेलाको व्यवस्थापन तथा सुरक्षाका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीको स्वास्थ्य सेवाका लागि कार्यक्रमस्थलमा सहायता कक्ष राखिने र सवारी पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको आचार्यले बताए ।

भेलामा सहभागीहरूको आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने एमालेले जनाएको छ ।