नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी नभएका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टाछुट्टै कार्यकक्षको व्यवस्था गरेको छ ।
सभापति गगनकुमार थापाको निर्देशनमा पार्टी कार्यालयमा दुई नेताका लागि छुट्टाछुट्टै कोठा तयार गरिएको हो । स्रोतका अनुसार वरिष्ठ नेताको हैसियतमा पार्टी कार्यालय आउँदा प्रयोग गर्न सक्ने गरी उनीहरूका लागि कार्यकक्ष छुट्याइएको हो ।
उपसभापति मधु आचार्यको कार्यकक्ष अगाडि रहेका दुई कोठा खड्का र कोइरालाका लागि छुट्याइएको बताइएको छ । यसअघि ती कोठा १४औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्रीहरूले प्रयोग गर्दै आएका थिए ।
१५औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्रीहरूले ती कोठा आफ्नो कार्यकक्ष बनाउन इच्छा देखाए पनि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सभापतिको निर्देशनअनुसार वरिष्ठ नेताहरूका लागि छुट्याइएको जवाफ दिएको स्रोतको भनाइ छ ।
सहमहामन्त्रीहरूका लागि भने यसअघि पुस्तकालय रहेको हलमा कार्यकक्षको व्यवस्था गरिएको छ । दुई सहमहामन्त्रीले पनि खड्का र कोइरालाका लागि छुट्टाछुट्टै कार्यकक्ष छुट्याइएको पुष्टि गरेका छन् ।
यद्यपि, उपसभापति मधु आचार्यले भने कार्यकक्ष पूर्ण रूपमा तयार भइनसकेको बताएका छन् । पार्टीभित्र एकता कायम गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले कार्यकक्ष व्यवस्थापनलाई प्राविधिक विषयका रूपमा व्याख्या गरेका छन् ।
आचार्यका अनुसार खड्का र कोइरालासँग संवाद भइरहेको छ । राजनीतिक रूपमा पार्टी एकता कायम राख्नुपर्ने विषयमा आफूहरू सकारात्मक रहेको उनको भनाइ छ ।
यसअघि १४औँ महाधिवेशन सम्पन्न भएको एक वर्षपछि तत्कालीन सभापति शेरबहादुर देउवाले नेता कोइरालाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरेका थिए । तर, कोइरालाले उक्त कार्यकक्ष प्रयोग गरेका थिएनन् ।

प्रतिक्रिया