प्रदर्शनको सुरुवाती हप्तामै १० करोड रुपैयाँ कमाएर बक्स अफिसमा आक्रामक सुरुवात गरेको नेपाली फिल्म ‘कबड्डी ५– आफ्टर द फाइनल म्याच’को व्यापारमा पछिल्लो समय सुस्तता देखिएको छ ।
प्रदर्शनको पहिलो सातामै १० करोड रुपैयाँ कमाएको फिल्मले दोस्रो सातासम्म आइपुग्दा कुल १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ आम्दानी गरेको थियो ।
तर, तेस्रो सातामा आइपुग्दा यसको कमाइमा उल्लेख्य गिरावट देखिएको छ । तेस्रो सातासम्म फिल्मको कुल कमाइ १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँ पुगेको छ । अर्थात् दोस्रो सातापछि थपिएको एक सातामा फिल्मले करिब ५४ लाख रुपैयाँ मात्रै कमाएको छ ।
सुरुवाती दिनमा दर्शकको राम्रो साथ पाएको फिल्मको व्यापार पछिल्लो समय खुम्चिएको हो । यद्यपि, हाल प्रदर्शनरत नेपाली फिल्महरूमध्ये ‘कबड्डी ५’ नै कमाइका हिसाबले अग्रस्थानमा छ ।
नेपाली फिल्मको व्यापार सूचीमा दोस्रो स्थानमा माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ रहेको छ । फिल्मले हालसम्म १० करोड ३५ लाख ७८ हजार रुपैयाँ कमाएको छ ।
त्यस्तै, ‘आ बाट आमा–२’ ले ६ करोड ८१ लाख ६७ हजार रुपैयाँभन्दा बढी, ‘छ माया छपक्कै–२’ ले ३ करोड ४३ लाख १७ हजार रुपैयाँ र ‘१२ गाउँ–२’ ले २ करोड ३२ लाख रुपैयाँभन्दा बढी कमाइ गरेका छन् ।
यसैबीच, भारतीय फिल्म ‘रामायण’ले भने नेपाली सिनेमा घरमा दर्शकको आकर्षण बढाइरहेको छ । प्रदर्शनको ११ दिनमा फिल्मले १४ सय करोड रुपैयाँ कमाएको बताइएको छ । पहिलो सप्ताहन्तको तुलनामा दोस्रो सप्ताहन्तमा यसको व्यापार १८.९१ प्रतिशतले बढेको जनाइएको छ ।
एकातिर ‘रामायण’को व्यापार बढिरहेको र अर्कोतिर नेपाली फिल्महरूको कमाइ सुस्ताइरहेको अवस्थामा नेपाली बक्स अफिसमा अहिले फरक दृश्य देखिएको छ ।

प्रतिक्रिया