निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ । निर्वाचनको तयारी तथा आवश्यक विषयमा छलफल गर्न आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मंसिर ४ गते बैठकमा बोलाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठक बिहान ११ः३० बजे सुरु हुनेछ । समग्र निर्वाचनको तयारीबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई बोलाइएको उनले जानकारी दिए ।
हाल राष्ट्रिय मान्यता प्राप्त दलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।
प्रवक्ता भट्टराईले स्थानीय तहको निर्वाचन पनि नजिकिँदै गएकाले बैठकमा त्यस विषयले प्राथमिकता पाउने बताए । आयोगले निर्वाचनको तयारी विभिन्न चरणमा अघि बढाइरहेको र निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग परामर्श भइरहेको पनि उनले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहलाई रिक्त हुन नदिई निर्धारित समयमै निर्वाचन गराउन आयोग तयार छ । निर्वाचनको मिति सरकारले तोक्ने र उक्त मितिमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी आयोगको हुने उनले स्पष्ट पारे ।
यसअघि प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पनि आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले संवैधानिक व्यवस्थाअनुसार सोही समय आसपास निर्वाचन हुने बताएका थिए ।
उनले निर्वाचन निष्पक्ष र विवादरहित रूपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया