राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमणको उद्देश्यमा केन्द्रित रहन र आचारसंहिता पालना गर्न निर्देशन दिएका छन्।
सभापति निवासमा आज भएको छलफलमा लामिछानेले भ्रमणलाई फलदायी बनाउन आवश्यक तयारी र प्रभावकारी सहभागितामा ध्यान दिन आग्रह गरेको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बुर्लाकोटीका अनुसार सभापति लामिछानेले भ्रमणको उद्देश्यलाई प्राथमिकतामा राखेर जिम्मेवारीपूर्वक सहभागी हुन प्रतिनिधिमण्डलका सदस्यहरूलाई मार्गनिर्देशन गरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ। पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा जाने टोलीमा सांसद तथा पार्टीका अन्य प्रतिनिधिसहित २० जना सहभागी हुनेछन्।
भ्रमण टोलीमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन्।
चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डलले दुई देशका राजनीतिक दलबीचको सम्बन्ध, अनुभव आदानप्रदान तथा आपसी सहकार्यका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया