पार्टीविरुद्ध गतिविधि गर्नेलाई तत्काल कारबाही गर्न ओलीको निर्देशन


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिम्मेवारीमा रहेर आफ्नै उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।

बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा रहने तर पार्टीकै उम्मेदवारविरुद्ध लाग्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्।

‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ उनले भने।

पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम गर्ने गरेको भन्दै ओलीले त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिए।

उनले जिल्लास्तरमै पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गरी केन्द्रमा सिफारिस पठाउन भनेका छन्। केन्द्रले पनि प्राप्त जानकारीका आधारमा छानबिन गरेर आवश्यक कारबाही गर्ने उनको भनाइ छ।

ओलीले जिल्लास्तरबाटै स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य प्रमाणित भए कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

उनले एमाले विचार, सङ्गठनात्मक अनुशासन र एकताका आधारमा चल्नुपर्नेमा जोड दिँदै पार्टीभित्रका अन्तर्विरोध तथा मनमुटाव अन्त्य गर्न पनि आग्रह गरे। त्यसका लागि जिल्ला, पालिका र वडा तहसम्म बैठक आयोजना गरी आपसी असमझदारी हटाउनुपर्ने उनको भनाइ थियो।

नेता तथा कार्यकर्ताहरू जनतामाझ पुग्न नसकेको भन्दै ओलीले सङ्गठनात्मक गतिविधि प्रभावकारी बनाउन र पार्टीको विचार, सदाचार तथा इमानदारी जनतामाझ स्थापित गर्न निर्देशन दिए।

फागुन २१ को निर्वाचनमा पार्टीका सङ्गठित सदस्यको सङ्ख्याभन्दा कम मत आएकोप्रति पनि उनले असन्तुष्टि जनाए। साथै, नेता–कार्यकर्तालाई स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए।