बिदाको मौका छोप्दै पर्यटक, भरिए कास्कीका तीन गाउँ


तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको आगमन बढेसँगै यी गाउँका होटल तथा घरबासमा पाहुनाको चाप बढेको छ भने अग्रिम बुकिङ नगरी पुग्ने पर्यटकलाई आवास पाउन कठिन हुन थालेको छ ।

अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन् ।

पर्यटकको चाप बढेपछि होटलमा कोठा पाउन कठिन भएको छ । गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा रहेको समितिले जनाएको छ । घान्द्रुक पुग्नेमा अधिकांश आन्तरिक पर्यटक भए पनि भारतीय तथा अन्य मुलुकका पर्यटकसमेत आउने गरेका छन् ।

अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति र गाउँले परिवेश घान्द्रुकका मुख्य आकर्षण हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर तथा पुनहिल–घोरेपानी पदमार्गमा पर्ने भएकाले पनि यो गाउँ पदयात्रीको रोजाइमा पर्दै आएको छ ।

मादी गाउँपालिका–१ स्थित सिक्लेसमा पनि पर्यटकको चाप उल्लेख्य बढेको छ । पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट मात्रै एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए । पर्यटकको आगमन बढेपछि होटल व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले बताएका छन् ।

नमस्ते गेस्ट हाउसका सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ । नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन कठिन भएपछि पर्यटकलाई अग्रिम बुकिङ गरेर मात्र आउन आग्रह गरिएको छ ।

गुरुङ संस्कृति, मौलिक घर, ढुङ्गे आँगन, हिमाली दृश्य तथा स्थानीय परिकार सिक्लेसका आकर्षण हुन् । गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक र सिक्लेस पार्कका साथै सिक्लेस–कपुचे–कोरी पदमार्गले पनि पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

यस्तै, माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ । तिहारको भोलिपल्टदेखि होटल तथा घरबासमा पाहुना भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिकी निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताइन् ।

विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ । यहाँका घरबासमा एकै रातमा चार सयसम्म पाहुनालाई आवास उपलब्ध गराउन सकिने क्षमता छ ।

समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । एक हजार दुई सय रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी, गुरुङ संस्कृति, रैथाने खाना र स्थानीय जीवनशैली यहाँका प्रमुख आकर्षण हुन् ।

ल्वाङमा पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती तथा निगालोबाट डोको र सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले पनि यहाँ विश्राम गर्ने गरेका छन् ।

पोखराबाट सडकमार्ग हुँदै पुग्न सकिने यी तीन गाउँमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र पदयात्राको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । बिदाको अवसरमा बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाए पनि पर्याप्त आवास र पर्यटक व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।