काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रय लिइरहेका भोटेकोशी बाढीपीडित गुम्बा छोड्न थालेका छन् ।
गुम्बा व्यवस्थापनले लामो समय भइसकेको भन्दै अब आफ्नै बसोबासको व्यवस्था गर्न आग्रह गरेपछि पीडितहरू शनिबारदेखि गुम्बा छोड्न थालेका हुन् । उनीहरू तत्कालका लागि काठमाडौंमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने तयारीमा छन् ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका पेमा दोर्जे घलेले सरकारले अहिलेसम्म अस्थायी बसोबासको व्यवस्था गर्न कुनै योजना नल्याएको गुनासो गरे । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका पीडितलाई कोठाभाडा तिरेर बस्नसमेत समस्या छ ।
‘हुनेले त कोठा लिएर बस्यो होला । नहुने पीडित पनि धेरै छन् । यत्तिको समयसम्म सरकारको ध्यान गएर अस्थायी बसोबास त बनाइदिनुपर्ने हो । सरकारको केही जानकारी आएको छैन,’ उनले भने ।
बाढीपीडितलाई भेट्न गुम्बा पुगेका गृहमन्त्री सुधन गुरुङले काठमाडौंमै अस्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन दिएको घलेले बताए । तर, गुम्बा छोड्नुपर्ने अवस्था आइसक्दा पनि सरकारबाट कुनै पहल नभएको उनको गुनासो छ ।
‘गृहमन्त्री पनि आउनुभएको थियो । तपाईंहरूले चिन्ता लिनुपर्दैन, तपाईंहरूलाई काठमाडौंमा अस्थायी बसोबासको व्यवस्था गर्छौं भन्नुभएको थियो,’ उनले भने, ‘खोइ ? कहाँ गर्नुभयो ? एकदिन आउनुभयो, पछि उहाँ आउनु पनि भएन । अब त हामी गुम्बाबाट पनि निस्कनुपर्ने परिस्थिति भइसक्यो ।’
बाढीमा आफन्त र सम्पत्ति गुमाएका पीडितलाई त्यसपछि बेघरबार हुनुपर्दा थप पीडा भएको उनले बताए । सरकारले दिएको १५ हजार रुपैयाँले कोठाभाडा तिर्ने कि खाद्यान्न किन्ने भन्ने समस्या रहेको उनको भनाइ छ ।
उनले बसोबास, खाद्यान्न र गाउँसम्म पुग्ने सडकको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । साथै, बाढी प्रभावित क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले वन–जंगल प्रयोगमा रहेका निश्चित नियम फुकुवा गर्न पनि उनले माग गरे ।
अर्का बाढीपीडित कामी नुर्बु तामाङले ९० प्रतिशत पीडित काठमाडौंमा बस्न नसक्ने अवस्था रहेको बताए । सरकारले गाउँ फर्किएपछि आवश्यक व्यवस्थापन गरिदिने आशासहित आफूहरू रसुवा जान लागेको उनले सुनाए ।
‘सिस्नो–ढिँडो खाऊँला, खेती–किसानी गरौँला, हिजोजस्तै पशुपालन गरौँला । त्यहीँबाट उत्पादन भएको कुरा खाएर बाँचौँला र सरकारले आगामी दिनमा केही व्यवस्थापन गर्ला भन्ने आशाका साथ हामी जाँदै छौँ,’ उनले भने ।
सरकारले आफूहरूलाई सधैँ आश्रय दिएर निर्भर बनाउनुको सट्टा कृषि, पशुपालन र उत्पादनमूलक काममा जोड्नुपर्ने उनको सुझाव छ । चीनको उदाहरण दिँदै उनले आफूहरू पनि श्रम गरेर बाँच्न तयार रहेको बताए ।
घरबास, सडक र रोजगारीको अभावले गाउँ फर्किएपछि झन् कठिन अवस्था आउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । सरकारले व्यवस्थापन गर्न नसक्ने भए सहयोग गर्न चाहने संघ–संस्थाका लागि बाटो खुला गरिदिन पनि उनले आग्रह गरे ।
मुस्ताङ गुम्बामा २०७ जना पुरुष र २०४ जना महिला गरी कुल ४११ जना बाढीपीडित आश्रित थिए । तीमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा थिए ।
टिमुरेबाट उद्धार गरिएका पीडितलाई सुरुका १० दिन यल्लो गुम्बामा राखिएको थियो । त्यसपछि उनीहरूलाई मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएको थियो । गुम्बा र लायन्स क्लबले दुई महिनासम्म उनीहरूको खानपान र बसोबासको व्यवस्था गरेका थिए ।

प्रतिक्रिया