सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत दिने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ ।
आगामी २०८३ साल मङ्सिरदेखि कार्यान्वयनमा आउने कार्यक्रमबाट ५ एम्पियर क्षमताको विद्युत् मिटर जडान गरेका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुनेछन् ।
यस सम्बन्धमा शुक्रबार शारदा नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको हो । सम्झौताअनुसार मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ५ एम्पियर मिटर जडान गरेका ग्राहकले तिर्नुपर्ने न्यूनतम विद्युत् शुल्क नगरपालिकाले व्यहोर्नेछ ।
नगरपालिकाका अनुसार यो कार्यक्रम हाललाई २०८४ साल असार मसान्तसम्म सञ्चालन हुनेछ ।
नगर प्रमुख प्रकाश भण्डारीले विशेषगरी विपन्न तथा न्यून आय भएका नागरिकलाई लक्षित गरी कार्यक्रम ल्याइएको बताए । सामान्य न्यूनतम विद्युत् शुल्क बुझाउनकै लागि सदरमुकामस्थित विद्युत् कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाउनु पनि कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।
‘विशेषगरी नगरपालिकाका दुर्गम तथा दूरदराजका बस्तीमा बसोबास गर्ने नागरिकहरू न्यूनतम विद्युत् शुल्क बुझाउनकै लागि सदरमुकामस्थित विद्युत् कार्यालयसम्म आउनुपर्ने बाध्यता छ। सामान्य शुल्क तिर्नकै लागि यातायात भाडा र अन्य खर्च गरेर विद्युत् कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने ।
कार्यक्रमबाट सुविधा लिन ५ एम्पियरको मिटर जडान गरेका नगरवासीले एक पटक मात्र सम्बन्धित वडा कार्यालयमा पुगेर निवेदन दिनुपर्नेछ । त्यसपछि मासिक २० युनिटसम्मको न्यूनतम विद्युत् शुल्क तिर्न विद्युत् कार्यालय धाउनुपर्ने छैन ।
नगरपालिकाले यस कार्यक्रमबाट नागरिकको आर्थिक भार कम हुनुका साथै समय र यातायात खर्चसमेत बचत हुने अपेक्षा गरेको छ ।

प्रतिक्रिया