सर्वोच्चका चार प्रस्तावित न्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदित


सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम समितिले अनुमोदन गरेको हो ।

उनीहरूमध्ये डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् । चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी परेका थिए ।

उनीहरूमाथि शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा सुनुवाइ भएको थियो । उजुरीमाथि छलफल र सुनुवाइ प्रक्रिया पूरा गरेपछि समितिले चारै जनाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

समितिबाट नाम अनुमोदन भएसँगै उनीहरूको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।