नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा आफूहरूलाई सरकारबाट अपदस्थ गरिएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ३५ वर्षमा केही भएन भन्ने भाष्य विवेकहीन रहेको टिप्पणी गरे ।
‘जसले गणतन्त्र, सङ्घीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाउन सक्न पाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो। दिइएको छैन। तपाईंहरू राम्रोसँग हेर्नुहोला, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो,’ उनले भने ।
प्रचण्डले वर्तमान सरकारको कामकारबाहीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन् । उनले कतिबेला कुन पत्रकार पक्राउ पर्ने वा कसैमाथि हमला हुने हो भन्ने टुङ्गो नरहेको टिप्पणी गरे ।
‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ। कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन,’ उनले भने ।
गणतन्त्र र सङ्घीयता ल्याउने तथा पूर्वाधार र ऊर्जा क्षेत्रमा काम गर्नेहरूलाई बदमास र अपराधीका रूपमा चित्रण गरिएको भन्दै उनले आपत्ति जनाए ।
आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा बिचौलियाले हराएकै कारण देश दुर्घटनामा परेको उनको दाबी थियो ।
‘हामीलाई अपदस्थ गरिएपछि देश दुर्घटनामा जान्छ। यो संविधानको मर्मविपरीत पनि छ, लोकतन्त्रको मर्मविपरीत पनि छ। अब जाने भयो दुर्घटनामा भनेर खबरदारी गर्दागर्दै गयो। गर्दागर्दै गईपो हाल्यो। अब अहिले त अनौठो खालको सरकार हामीले भोगेका छौँ,’ उनले भने ।

प्रतिक्रिया