कोप–३१ मा नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनाल सहभागी


परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गरेका छन् ।

टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा पनि उनले सहभागिता जनाउनेछन् ।

सम्मेलनका क्रममा नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि मन्त्री खनाल सहभागी हुनेछन् ।

यसका अतिरिक्त उनले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्री र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य र कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी छन् ।

मन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।