गगनलाई प्रकाशशरणको सीधा प्रश्न– अरूलाई हटाउनुपर्छ भन्नेले आफू के गर्छन्?


नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी सभापति गगन थापाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अरूमाथि आरोप लाग्दा पदबाट हटाउनुपर्ने बताउनेहरूले आफूमाथि आरोप लाग्दा के गर्छन् भन्दै प्रश्न गरेका हुन् ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सभापति थापामाथि बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप लागेको विषयलाई लक्षित गर्दै महतले यस्तो टिप्पणी गरेका हुन् ।

उनले विगतमा पार्टीका नेताहरूमाथि प्रमाणबिनै आरोप लगाएर राज्यसत्ताको प्रयोग गरिएको भन्दै विरोध गर्नेहरूले अहिले आफूमाथि आरोप लाग्दा फरक व्यवहार देखाएको टिप्पणी गरे ।

‘अरूलाई पर्दाखेरि त यिनीहरू सबै खत्तम हुन्, हामी मात्रै पवित्र र ठीक छौँ, अरूलाई सरकारले हटाउनुपर्छ भन्ने साथीहरू आज आफूमाथि त्यस्तै आरोप लागेपछि कसरी हाम्रो विरुद्ध यस्तो भयो भन्दै हुनुहुन्छ,’ उनले भने ।

महतले नेपाली कांग्रेसलाई व्यक्तिवादी नभई सिद्धान्तनिष्ठ, विधिसम्मत र संस्थागत संस्कारअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए । विशेष महाधिवेशन पक्षधरहरूले पार्टीमा विचार, विधान र राजनीतिक संस्कारलाई प्राथमिकता नदिएको उनको आरोप छ ।

कांग्रेसमा विगतदेखि नै प्रतिस्पर्धा, बहस र फरक मतलाई स्वीकार गर्दै सबैको भावना र दृष्टिकोण समेटेर निष्कर्षमा पुग्ने परम्परा रहेको उनले बताए । तर अहिले पार्टीमा संस्कार, विचार र विधानको पालना कमजोर हुँदै गएको उनको भनाइ छ ।

‘न संस्कार छ, न विचार छ, न विधान छ । यस्तो कुरालाई हामीले स्वीकार गर्ने हो भने अनि हामी कांग्रेस हुन्छौँ ?’ उनले प्रश्न गरे ।

उनले कांग्रेसको रूख चुनाव चिह्न मात्र नभई पार्टीको प्रजातान्त्रिक समाजवाद र राजनीतिक विचारधाराको प्रतीक भएको बताए । पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसको निर्णय नआउँदै चुनाव चिह्न र आधिकारिकताबारे अन्योल सिर्जना गरिएको उनको भनाइ छ ।

पार्टीको आधिकारिकता कसले पाउने भन्ने अन्योलले कांग्रेसभित्र डर र त्रासको वातावरण सिर्जना भएको पनि महतले बताएका छन् ।