यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या घटेको छ । गत वर्ष १५५ दुर्घटनामा १० जनाको मृत्यु भएकामा यस वर्ष १०५ दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा दुर्घटना ५० वटाले र मृत्यु हुनेको सङ्ख्या सात जनाले घटेको छ ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्षका अधिकांश दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित छन् । तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेको उनले बताए । पूर्वतयारी, योजनाबद्ध परिचालन र सरोकारवालासँगको सहकार्यले सडक सुरक्षामा सुधार आएको उनको भनाइ छ ।
ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले दुर्घटनापछि तत्काल उद्धार र प्रभावकारी उपचारको व्यवस्थाले घाइतेको ज्यान बचाउन सहयोग पुगेको बताए । उनका अनुसार ट्राफिक प्रहरी र जनपथ प्रहरीले नियमित निगरानी, सुरक्षा जाँच तथा संयुक्त जाँचलाई तीव्र बनाएका थिए ।
चाडपर्वमा सवारी चाप बढ्ने र तीव्र गति तथा चालकको लापरबाहीले दुर्घटनाको जोखिम बढाउने भएकाले प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो । विभिन्न स्थानमा गरिएको जाँच र प्रहरी परिचालनले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको कार्यालयले जनाएको छ ।
दुर्घटना घटे पनि दुईपाङ्ग्रे सवारीसाधन र तीव्र गतिसँग सम्बन्धित जोखिम कायम रहेकाले ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, नियम पालना गर्न र सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ ।


प्रतिक्रिया