फुजिङ र चुर्दुङ्ग प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण


दोलखाको जिरी नगरपालिका वडा नम्बर ४ स्थित फुजिङ प्राथमिक विद्यालय र वडा नम्बर ५ स्थित चुर्दुङ्ग प्राथमिक विद्यालयका विद्यार्थीलाई जुत्ता, स्विटर तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।

जिरी नगरपालिका वडा नम्बर ४ निवासी समाजसेवी प्रमिला काफ्ले खत्री र गोपाल कुमार श्रेष्ठको पहलमा विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो। सामग्री हस्तान्तरण कार्यक्रम जिरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा जिरीका लोकप्रिय नेता पदेमान जिरेलको नेतृत्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा जिरी नगरपालिका वडा नम्बर ५ का समाजसेवी मकर तामाङ, ईश्वर कार्की तथा वडा नम्बर ४ का समाजसेवी विशाल काफ्ले खत्री लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदेमान जिरेलले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुर्‍याउने यस्ता सामाजिक कार्यको प्रशंसा गर्दै सहयोगी प्रमिला काफ्ले खत्री र गोपाल कुमार श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे। उनले जिरीको शिक्षा क्षेत्रमा थप सुधार र विकासका लागि आफूले आगामी दिनमा पनि निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।भूकम्पपछि निर्माण भएको फुजिङ विद्यालयमा निरन्तर सहयोग२०७२ सालको विनाशकारी भूकम्पपछि इटालियन नागरिकहरूको सहयोगमा निर्माण गरिएको फुजिङ प्राथमिक विद्यालय जिरी नगरपालिका वडा नम्बर ४, माथिल्लो कुनेमा अवस्थित छ।

विद्यालय भवन निर्माणमा समाजसेवी गोपाल कुमार श्रेष्ठको विशेष पहल तथा तत्कालीन स्थानीय नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।फुजिङ प्राथमिक विद्यालयलाई गोपाल कुमार श्रेष्ठ र प्रमिला काफ्ले खत्रीले हरेक वर्ष विभिन्न शैक्षिक तथा आवश्यक सामग्री सहयोग गर्दै आएका छन्।

यस क्रममा विद्यार्थीहरूलाई ट्र्याकसुट, झोला, जुत्ता तथा स्टेशनरी सामग्री लगायतका सामग्री वितरण हुँदै आएको छ।विद्यालय तथा विद्यार्थीको आवश्यकता पहिचान गरी निरन्तर सहयोग गर्दै आएको भन्दै वडा अध्यक्ष जिरेलले श्रेष्ठ दम्पतीको सामाजिक योगदानको खुलेर प्रशंसा गरे।

स्थानीय स्तरमा विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीलाई आवश्यक सामग्रीको उपलब्धता तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई अध्ययनमा सहजता प्रदान गर्ने यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने स्थानिय नेता मकर तामाङ र ईश्वर कार्कीले बताए।