एसिया प्यासिफिक ट्रेल रेसमा निर्मलालाई कांस्य पदक


नेपाली धाविका निर्मला राईले चीनमा सम्पन्न एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिप (APTRC) मा कांस्य पदक जितेकी छन्।

चीनको फुजियान प्रान्तस्थित वुयीशानमा बिहीबार (नोभेम्बर २६) सम्पन्न महिला लङ ट्रेल विधाको ८६.१९ किलोमिटर दौडमा तेस्रो स्थान हासिल गर्दै उनले नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाएकी हुन्।

नेपालबाट उक्त विधामा एकमात्र खेलाडीका रूपमा सहभागी निर्मलाले निर्धारित दूरी ९ घण्टा ३९ मिनेट ७ सेकेन्डमा पूरा गरिन्। उनले दौडको सुरुवाती चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो ५५ किलोमिटरसम्म अग्रता कायम राखेकी थिइन्। दौडको अन्तिम चरणमा भने चीनका खेलाडीसँग उनको कडा प्रतिस्पर्धा भएको थियो। दोस्रो स्थान हासिल गर्ने चीनकी अन्ना ली बाभन्दा निर्मला केवल ५२ सेकेन्डले पछि परिन्। उनले अन्तिमसम्म उत्कृष्ट लय कायम राख्दै तेस्रो स्थानसहित कांस्य पदक सुरक्षित गरिन्।

महिला लङ ट्रेलतर्फ चीनकी जियाङ वेन्लीले ९ घण्टा ३२ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितिन्। त्यस्तै, चीनकी अन्ना ली बाले ९ घण्टा ३८ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै रजत पदक हासिल गरिन्।

ट्रेल रनिङ सामान्य सडक दौडभन्दा फरक प्रकृतिको साहसिक दौड हो। यसमा धावकहरूले पहाडी तथा जंगल क्षेत्रका उकालो–ओरालो, कठिन भौगोलिक बनावट र प्राकृतिक अवरोध पार गर्दै निर्धारित दूरी पूरा गर्नुपर्छ। लामो दूरी र शारीरिक सहनशक्तिको परीक्षा मानिने यस विधामा निर्मलाले देखाएको प्रदर्शन नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।

एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपको दोस्रो संस्करण चीनको वुयीशानमा नोभेम्बर २४ देखि २८ सम्म सञ्चालन भइरहेको छ। प्रतियोगितामा लङ ट्रेल, सर्ट ट्रेल र यू–२३ विधामा विभिन्न देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

निर्मलाको यो उपलब्धिले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा नेपाली खेलाडीको सम्भावना र प्रतिस्पर्धात्मक क्षमतालाई थप उजागर गरेको छ।