नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ। केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो।
राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको जनाएको छ। यसअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २० अर्ब ५ करोड ९८ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ राखिनेछ।
राष्ट्र बैंकका अनुसार उक्त रकम २०२६ डिसेम्बर ७ देखि २०२७ डिसेम्बर ७ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राखिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम खुलाएर मंसिर १४ गतेभित्र ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ।
यसका लागि राष्ट्र बैंकले विभिन्न योग्यता तथा सर्तसमेत तोकेको छ। बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने तथा निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी हुनु नहुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया