देउवाको आरोपप्रति सचिन तिमल्सिनाको कडा प्रतिवाद, भने– ‘तपाईंलाई धेरैले ढाँटे दाइ’


नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सिनाले पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लक्षित गर्दै दिएको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन्। उनले देउवाको आरोपलाई ‘वाहियात’ र ‘गलत सूचनामा आधारित’ भन्दै आपत्ति जनाएका हुन्।

देउवाले हालै पोखरामा आयोजित ‘समानान्तर कांग्रेस’को गण्डकी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै आफूलाई मार्नुपर्छ भन्नेलाई गगन थापाले टिकट दिएको आरोप लगाएका थिए।

गगन थापाको नाम नलिई देउवाले आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई र आफूलाई मार्नुपर्छ भन्नेलाई समेत टिकट दिइएको बताएका थिए।

देउवाको उक्त अभिव्यक्ति आफूप्रति लक्षित भएको बुझ्दै तिमल्सिनाले सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए।

तिमल्सिनाले आफू कुनै पनि प्रकारको हिंसामा विश्वास नगर्ने व्यक्ति भएको स्पष्ट पारेका छन्। बरु हिंसाको सिकार हुँदा पनि देशमा शान्ति छाउनुपर्छ भन्नेमा आफू दृढ रहेको उनको भनाइ छ।

उनले देउवा वरपरका व्यक्तिहरूले गलत सूचना दिएर भ्रममा पारिरहेको आरोपसमेत लगाएका छन्। ‘तपाईंलाई धेरैले ढाँटे दाइ, अझै ढाँट्दैछन्। जबसम्म शेरबहादुर आफैँ सूचना जम्मा गर्थे, गजब थिए । जबदेखि अरूको सूचनामा भर पर्न थाले, बिजोग भयो दाइ,’ उनले लेखेका छन्।

देउवाले सभापति गगन थापामाथि पनि गलत सूचनाका आधारमा आरोप लगाएको तिमल्सिनाको दाबी छ। आफूलाई नचिनेको भए पाँचथर कांग्रेससँग आफ्नो र परिवारको योगदानबारे बुझ्न उनले देउवालाई आग्रह गरेका छन्।

त्यस्तै, कांग्रेस केन्द्रीय कार्यालयमा आफूले नेतृत्व गरेको ‘पोलिसी ह्याकाथन’ कार्यक्रममा देउवा स्वयं सहभागी भएको प्रसंग पनि उनले स्मरण गराएका छन्। पार्टी कार्यालय जल्दा झन्डा ओढाउन जाने पहिलो व्यक्ति आफू नै भएको उल्लेख गर्दै उनले त्यसमा आजीवन गर्व रहने बताएका छन्।

तिमल्सिनाले देउवाको सभापतित्वकालको राजनीतिक कार्यशैलीमाथि समेत प्रश्न उठाएका छन्। उनको कार्यकालमा मनपरी गठबन्धन भएको, जनतालाई प्रतिपक्षविहीन अवस्थामा छोडिएको र सत्ताका लागि जोसँग पनि गठबन्धन गर्न सक्ने प्रवृत्ति हाबी भएको उनको आरोप छ।

त्यस्तै, आर्थिक अपचलनका आरोपले पार्टी कमजोर बनेको भन्दै उनले देउवाको नेतृत्वमा कांग्रेस नैतिक रूपमा कमजोर भएको टिप्पणी गरेका छन्।

देउवाप्रति आफ्नो सम्मान कायमै रहेको उल्लेख गर्दै तिमल्सिनाले आलोचना गर्दा पनि मर्यादा कायम राख्नुपर्ने राजनीतिक संस्कार बीपी कोइरालाबाट सिकेको बताएका छन्।