३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य, ऊर्जा मिश्रण बदल्दै सरकार


सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्न सहज हुनेछ। नयाँ ढाँचाले आगामी दशकमा कुन प्रकृतिका ऊर्जा आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ।

हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता चार हजार २०० मेगावाट रहेको छ। उत्पादनको ठूलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाबाट प्राप्त हुँदै आएको छ। यस्ता आयोजनाबाट वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने भएकाले मौसमी असन्तुलन कम गर्न ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको छ।

यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई आधार बनाएर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो। सरकारले अहिले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो ढाँचा परिमार्जन गर्न लागिएको हो।

नयाँ ढाँचामा नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को हिस्सा निर्धारण गरिनेछ। विशेषगरी जलाशययुक्त र पम्प स्टोरेज आयोजनाले ऊर्जा सञ्चय गरी मागअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्युत् खरिद सम्झौता प्रक्रिया प्रभावित हुँदा निजी क्षेत्रका धेरै आयोजना लगानीको प्रतीक्षामा छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३ दशमलव ४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६ दशमलव ८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ।

तर थप २८१ आयोजनासहित कुल १६ हजार ४२५ दशमलव ७७ मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौताको प्रतीक्षामा छन्।

गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया थप प्रभावित भएको थियो। त्यसयता नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता पनि रोकिएको छ।

विद्युत् खरिद सम्झौता नहुँदा आयोजना विकासका लागि आवश्यक वित्तीय व्यवस्थापनमा समस्या हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई आयोजना निर्माणका लागि लगानी जुटाउने प्रमुख आधार मानिन्छ।

नयाँ ऊर्जा मिश्रणले पीपीए प्रक्रिया अघि बढाउन सहज बनाउनुका साथै निजी क्षेत्रको लगानी र विद्युत् आयोजना निर्माणलाई गति दिने अपेक्षा गरिएको छ।

नेपालको विद्युत् उत्पादन मुख्यतः जलविद्युत्मा निर्भर रहेकाले हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ। यस्तो निर्भरता घटाउन सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको विकासलाई पनि नयाँ ढाँचामा प्राथमिकता दिने तयारी गरिएको छ।

सरकारको ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत वृद्धि, प्रसारण पूर्वाधार विकास र अन्तरदेशीय विद्युत् व्यापार विस्तार पनि आवश्यक हुनेछ। भारतसँगै बङ्गलादेशमा विद्युत् निर्यातको सम्भावना बढिरहेका बेला सन्तुलित ऊर्जा मिश्रणले निर्यातयोग्य विद्युत् उत्पादन विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।