स्वास्थ्य समाचारमा संवेदनशील हुन मिडियालाई सरोकारवालाको आग्रह


काठमाडौँ । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा विषयवस्तुको संवेदनशीलता, तथ्यको सत्यता र त्यसले पार्न सक्ने प्रभावलाई ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

प्रेस काउन्सिल नेपालले मिडियाप्रतिको जनगुनासो र पत्रकार आचारसंहिताका विषयमा बुधबार आयोजना गरेको अन्तरक्रियामा सहभागी स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले उपचार पद्धति, औषधि तथा अस्पतालको सुरक्षा संवेदनशीलताबारे पर्याप्त जानकारी नलिई समाचार सम्प्रेषण गर्दा नकारात्मक असर पर्न सक्ने बताएका हुन् ।

काउन्सिलको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, अस्पतालका निर्देशक, चिकित्सक, स्वास्थ्य क्षेत्रका सङ्घसंस्थाका प्रतिनिधि तथा औषधि उत्पादकहरूको सहभागिता थियो ।

स्वास्थ्य क्षेत्रको सुधार, नागरिकलाई सचेत गराउने तथा स्वास्थ्य सेवामा देखिएका विकृति उजागर गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सहभागीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामा जोड दिएका थिए । उनीहरूले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित विषयको प्राविधिक पक्ष बुझ्न र आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न आग्रह गरे ।

स्वास्थ्य क्षेत्र र सञ्चारमाध्यमबीच समाचार सम्प्रेषणका विषयमा देखिने गलत बुझाइ र विवाद समाधानका लागि प्रेस काउन्सिल नेपालले समन्वयकारी भूमिका खेल्नुपर्ने उनीहरूको सुझाव थियो । आचारसंहिताविपरीत सम्प्रेषण हुने समाचारको प्रभावकारी अनुगमन तथा परीक्षण हुनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए ।

काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अधिकृत झविन्द्र भुसालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए । मिडिया अनुगमनकर्ता प्रकाश शर्माले कार्यक्रमको संयोजन तथा सहजीकरण गरेका थिए भने आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा. विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी, पाटन अस्पतालका निर्देशक डा. शान्तवीर महर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप वास्तोला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्यलगायतले धारणा राखेका थिए ।

त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निराजन सुवेदी, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्की, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रेडियोलोजिस्ट डा. कृष्ण बुढाथोकी, तिलगङ्गा आँखा प्रतिष्ठानका मुकेशकुमार सिंह, अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. सुदन ढकाल, काठमाडौं मोडल अस्पतालका निर्देशक डा. उदय कोइराला, औषधि उत्पादक संघका महासचिव सन्तोष बराल, नेपाल फर्मास्युटिकल एसोसिएसनका अध्यक्ष ललितमोहन पन्त तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण जोशीलगायत सहभागी थिए ।

कार्यक्रममा काउन्सिलका सदस्यहरू प्रकाशभक्त माथेमा र उपासना घिमिरेसहित वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल तथा उपप्रशासकीय अधिकृतहरू रहमतुल्ला मियाँ, सविता ढकाल र गीता पराजुलीलगायत कर्मचारीको उपस्थिति थियो ।