हङकङबाट आएका दुई चिनियाँ महिला पहेँलो अर्धठोस पदार्थसहित पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीहरू हिजो राति ११ः१५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका थिए।

भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा जाँच गर्दा उनीहरूले लुकाएर ल्याएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रभित्र लुकाइएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार प्लास्टिकको र्‍यापसहित उक्त पदार्थको कुल तौल २ किलो ३४८ ग्राम रहेको छ।

पक्राउ परेका दुवै महिलामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन्। उनीहरूलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।