निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
कार्कीको रिटको पेसी न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको छ।
सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। साथै, एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपीमा बढुवा गरेको थियो।
सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले उक्त निर्णय बदर गरी आफूलाई पुनः आईजीपीमा बहाल गर्न मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि मंसिर ७ गते बोलाएको थियो।
सर्वोच्च अदालतले मंसिर ४ गते नवनियुक्त आईजीपी डा. केसीका नाममा म्याद जारी गरे पनि प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो। अदालतका तामेलदारले म्याद बुझाउन नसकेको प्रतिवेदन पेस गरेपछि यस विषयले पनि सुनुवाइका क्रममा प्रवेश पाएको थियो।
सोमबारको सुनुवाइमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको भन्दै पुनः म्याद जारी भए बुझ्ने प्रतिबद्धता जनाएका थिए।
सोहीअनुसार इजलासले प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत म्याद बुझाई नियमानुसार पेस गर्न आदेश दिएको थियो। त्यसपछि आजका लागि सुनुवाइको पेसी तोकिएको हो।

प्रतिक्रिया