दशौँ राष्ट्रिय खेलकुदमा पुलिसको विजयी सुरुवात


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गरेको हो ।

कर्णाली रंगशालामा भएको खेलको पहिलो हाफमै पुलिसले दुवै गोल गरेको थियो । खेलको ३६औँ मिनेटमा धिरेन्द्र शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा सुजन मगरले अर्को गोल थपेपछि पुलिसले २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेनन् । अन्ततः पहिलो हाफमा बनाएको अग्रता कायम राख्दै पुलिसले प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो ।

खेलका क्रममा नेपाल पुलिस क्लबका एक र कर्णाली प्रदेशका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए।