राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अदालतबाट पुनर्बहाली भए पनि काम गर्न नदिने चेतावनी दिएका छन् ।
हिमालय टीभीसँगको कुराकानीमा चौधरीले कार्कीलाई पुनः आईजीपीका रूपमा जिम्मेवारी दिन नहुने बताएका हुन् ।
‘म तपाईँलाई यत्ति भन्छु– जस्ट इन केस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्यो भने पनि आईजीपी बन्नुहुन्न् । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब’, उनले भने ।
कार्कीबाट प्रहरी संगठन सञ्चालन हुन नसक्ने दाबी गर्दै चौधरीले उनलाई पूर्ववत् जिम्मेवारीमा फर्कन नदिन सरकारले अन्य वैधानिक विकल्प खोज्न सक्ने संकेतसमेत गरेका छन् ।
सरकारले नयाँ पद सिर्जना गर्दै कार्कीलाई आईजीपी पदबाट हटाएपछि उनी पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका हुन् । उनले कात्तिक २० गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
उक्त रिटमाथि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइका लागि मंसिर ३ गतेको मिति तोकेको छ । यसअघि कात्तिक ३० गतेका लागि सुनुवाइको मिति तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ सरेको थियो ।

प्रतिक्रिया