प्रहरीको सरुवा-बढुवा खोल्ने तयारीमा आईजीपी केसी, गृहमन्त्रीको प्रतीक्षा


नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी संगठनभित्र लामो समयदेखि रोकिएका सरुवा तथा बढुवाका प्रक्रिया अघि बढाउन आतुर देखिएका छन् ।

संगठनका नियमित काम विभिन्न कारणले रोकिएको भन्दै आईजीपी केसीले गृहमन्त्री सुधन गुरुङ फर्किएपछि मन्त्रालयसँग समन्वय गरेर ती काम अघि बढाउने बताएका छन् ।

हाल दुबई भ्रमणमा रहेका गृहमन्त्री गुरुङ फर्किएपछि सरुवा-बढुवाको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । ‘मन्त्रीज्यू आएपछि छिट्टै हुन्छ’, केसीले नेपाल प्रेससँग भनेका छन् ।

प्रहरीमा सामान्यतया एक वर्षको कार्यअवधि हुने गरे पनि जिल्ला तथा इलाका प्रहरी कार्यालयका प्रमुखसहितका अधिकारी १३ देखि १४ महिनासम्म एउटै जिम्मेवारीमा कार्यरत छन् । यसले सरुवाको प्रतीक्षामा रहेका अन्य प्रहरी अधिकृतलाई समेत प्रभावित पारेको छ ।

त्यस्तै, तत्कालीन आईजीपी दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त भएपछि एक एआईजी पद रिक्त छ । तीन महिनादेखि २४ डीएसपीका दरबन्दी पनि खाली छन् । इन्स्पेक्टरबाट डीएसपीमा बढुवाका लागि २०६४, २०७१ र २०७२ मा भर्ना भएका अधिकृतहरू प्रतिस्पर्धामा छन् ।

प्रहरी संगठनमा एसपी दर्जासम्मको सरुवा-बढुवाको अधिकार आईजीपीसँग हुन्छ । एसएसपीको निर्णय गृह सचिवस्तरबाट, डीआईजीको मन्त्रालयस्तरबाट र आईजीपी तथा एआईजीको सरुवा-बढुवा मन्त्रिपरिषद्बाट हुने व्यवस्था छ ।

प्रहरी प्रधान कार्यालयले गत वर्ष भदौ ३१ गते ४८ एसपी र असोज २ गते ९० डीएसपीको सरुवा गरेको थियो । त्यस्तै, असोज २८ मा सरुवा भएका ६५५ इन्स्पेक्टर अझै सोही कार्यक्षेत्रमा कार्यरत छन् ।

सरकार र प्रहरी नेतृत्वबीचको समन्वय अभावले रोकिएका नियमित कामलाई गति दिन गृहमन्त्रीसँग छलफल र निर्देशन आवश्यक रहेको आईजीपी केसीले बताएका छन् ।